काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार एक कार्यक्रममा आफ्नो कार्यकालमा पाकिस्तानको आर्थिक अवस्था बिग्रिएको स्वीकार गरेका छन् । इमरान खानले सरकारसँग देश चलाउन पैसा नभएकाले अन्य देशबाट ऋण लिनुपर्ने बताएका हुन् ।

खानले बढ्दो वैदेशिक ऋण र कर राजस्वमा कमी कतै राष्ट्रिय सुरक्षाको मुद्दा बनेको र जनताको हितमा खर्च गर्ने पर्याप्त स्रोत सरकारसँग नभएको बताएका छन् ।

पाकिस्तानी अखबार ट्रिब्युनको रिपोर्टका अनुसार इमरान खान संघीय राजस्व बोर्डको पहिलो ट्र्याक एण्ड ट्रेस प्रणालीको उद्घाटन समारोहमा इस्लामाबादमा उपस्थित भएको बेला उल्लेख गरेका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘हाम्रो सबैभन्दा ठूलो समस्या भनेको देश चलाउनको लागि पर्याप्त पैसा छैन, जसकारण हामीले ऋण लिनुपरेको छ ।’

उनले कर नतिर्ने संस्कृति औपनिवेशिक जमानाको विरासत भएको भन्दै जनताले कर तिर्न नचाहेको भन्दै आफ्नो पैसा खर्च हुन नसकेको उनले गुनासो गरेका छन् ।

जानकारी अनुसार ट्र्याक एण्ड ट्रेस प्रणालीले सुर्ती, मल, चिनी र सिमेन्टलगायत महत्वपूर्ण क्षेत्रको उत्पादन र बिक्रीको विद्युतीय अनुगमन सुनिश्चित गर्नेछ ।

यसले प्रणालीमा पारदर्शिता ल्याउन र राजस्व बढाउन मद्दत गर्ने पाकिस्तानको अपेक्षा छ । यसका साथै इमरान खानले विगतका सरकारहरूमाथि पनि दोष लगाएका छन् ।

इमरान खानले सन् २००९ देखि २०१८ सम्मका दुई सरकारको कडा आलोचना गर्दै विगतका सरकारहरूले स्थानीय स्रोत जुटाउन नसक्दा ऋणको सहारा लिएको आरोप लगाएका छन् ।

उनले यी सरकारले ठूलो रकम ऋण लिएको बताए । बेलायतको उदाहरण दिँदै इमरान खानले त्यहाँका नेताहरू जनताको पैसाप्रति संवेदनशील हुने तर पाकिस्तानी नेताहरूमा यस्तो नदेखिएको जानकारी दिए ।

पाकिस्तानको तुलनामा ५० गुणा बढी आम्दानी भएका बेलायती मन्त्रीहरूले विदेश जाँदा इकोनोमी क्लास प्रयोग गर्ने बताए ।

बेलायतका प्रधानमन्त्री अमेरिका भ्रमणमा जाँदा देशको पैसा जोगाउन बेलायती दूतावासमा बस्ने गरेको स्मरण पनि उनले गरेका छन् ।

बेलायतका नेताहरु जनताको पैसा प्रयोग भइरहेको कुराप्रति सतर्क हुने बताए । उनले भने, ‘तर, दुर्भाग्यवश पाकिस्तानमा यो संस्कृति कहिल्यै विकसित हुन सकेन । हाम्रा शासकहरूले जनतालाई कर तिर्न कहिल्यै प्रोत्साहन गरेनन् ।

जनताले बुझ्नुपर्छ कि पाकिस्तान ऋण र ऋणको दुष्टचक्रबाट करको सहायताले मात्रै बाहिर निस्कन सक्छ ।’ उनले कर असुलीमा एफबीआरको प्रशंसा गर्दै यो वर्ष सरकारले ८ खर्ब रुपैयाँ कर उठाउने लक्ष्य राखेको बताए । इमरानले सन् २००८ देखि रोकिएको टीटीएस पनि सुरु गर्न चाहेको बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु