काठमाडौं । सर्वोच्च अदालतमा आज इजलास तोकिएको १० मध्ये एक इजलासमा बेन्च बस्न सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको थियो ।

आज इजलास तोकिएकोमध्ये न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलासमा ‘बेन्च नबसेको’ सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले आजका लागि १० इजलासमा २६६ मुद्दामा पेशी तोक्नुभएको थियो ।

सर्वोच्चका अनुसार आज सात मुद्दामा फैसला, पाँच वटा मुद्दामा आदेश जारी र १७३ वटा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुङ्गाना, मीरा खड्का र हरिप्रसाद फुँयाल, हरिकृष्ण कार्की र कुमार रेग्मी, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ र डा. कुमार चुडाल, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, प्रकाशमान सिंह राउत र नहकुल सुवेदी तथा तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानका लागि संयुक्त इजलास तोक्नुभएको छ ।

साथै, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको छ ।

सम्बन्धित खबरहरु