अहिले नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको छ । एउटा ध्रुवमा नेकपा (एमाले) छ, जसले आर्थिक विकास र समृद्धिलाई प्रमुख एजेन्डा बनाउनुका साथै राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सामाजिक सद्भाव र अराजकताको अन्त्यलाई आफ्नो कार्यभार बनाएको छ ।

अर्को ध्रुवमा नेकपा (एमाले) का विरुद्धमा रहेका गठबन्धनकारी शक्ति छन्, जसले संविधान, कानुन, मूल्य र मान्यताहरूको धज्जी उडाइरहेका छन् र केवल सत्ता स्वार्थको घिनलाग्दो खेलमा लिप्त छन् । उनीहरूका यस्ता क्रियाकलापले हाम्रो राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाइरहेको छ । नेपालको राजनीतिप्रति चासो राख्ने हरकोहीले राष्ट्रिय राजनीतिको यस अवस्थालाई जस्ताको तस्तै बुझ्नुपर्छ ।
नेकपा (एमाले) को जीवनमा केही कठिन अवस्था उत्पन्न भएको छ । नेकपा (एमाले) ले उठाइरहेको समृद्धि, विकास र स्वाभिमानको झण्डालाई कमजोर बनाउनका लागि भित्र र बाहिरका प्रयासहरूबाट पार्टीलाई विभाजित गर्ने दुष्प्रयास गरिएको छ । यसबाट हामी एमालेका कतिपय साथीहरू अलिकति विचलित र तरङ्गित पनि भयौँ । यस्तो बेलामा हामी सबैले बुझ्न जरुरी छ– यस्तो स्थिति सिर्जना हुनुका पछाडिको कारण के हो ?
आज हामीसँग विगतमा माओवादी केन्द्रमा आवद्ध कमरेडहरू पनि हुनुहुन्छ, नेकपा (एमाले) को सिंगो पंक्ति पनि छ । मैले बारम्बार भन्ने गरेको छु– विगतमा दुई पार्टीका बीचमा एकता गर्ने बेलादेखि रहेका समस्याको संग्रहीत परिणामका रूपमा आजको दुर्भाग्य निम्तिएको हो । पार्टी एकता अनुचित थिएन, राष्ट्रको आवश्यकता थियो । राजनीतिक स्थिरताका लागि कम्युनिष्ट शक्तिहरू एक होऊन् भन्ने जनताको चाहनाको थियो । यति महत्वपूर्ण काम सम्पन्न गरिरहँदा त्यस प्रक्रियासँग सम्बन्धित केही समस्या झाङ्गिएर आए । माओवादी केन्द्रमा संगठनात्मक अराजकताको समस्या थियो भने नेकपा (एमाले) भित्र गुटबन्दी थियो । नेकपा बनिसकेपछि यी दुईको दुर्भाग्यपूर्ण गठजोडका कारण पार्टीमा एकपछि अर्को संकट थपिँदै गएको हामी सबैले देखे–भोगेकै छौँ ।
विगतमा माओवादी केन्द्रले हिंसात्मक गतिविधिमा लागेर एउट शक्ति निर्माण गरे पनि त्यो राजनीतिक पार्टी बनिसकेको थिएन । विचार, संगठन र नेतृत्वको हिसाबमा माओवादी केन्द्र व्यवस्थित पार्टी नबनिसकेका कारण त्यसमा संगठनात्मक अराजकताको बोलवाला थियो । त्यसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहनुभयो, जसले ३५ वर्ष पार्टीको नेता भइसक्दा पनि कहिल्यै प्रतिस्पर्धा गर्नु परेको छैन । पार्टीभित्रका अन्तरविरोधमा खेल्ने र ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ उहाँको नीति अहिले पनि कायम छ । माओवादी केन्द्रका नाममा छ हजारसम्मको केन्द्रीय कमिटी बन्नुलाई संगठनात्मक अराजकताको एउटा नमुनाका रूपमा लिन सकिन्छ ।
नेकपा (एमाले) चाहिँ विचार, संगठन र नेतृत्वका हिसावले परिपक्व पार्टी बनिसकेको थियो । हामी एउटा सुसङ्गत विचारको सिलसिलाका रूपमा विकास भएका हौँ र हामीसँग जनताका बीचमा लोकप्रियता कायम गरेर स्थापित नेतृत्व–पंक्ति थियो । तर, एकता गर्दैगर्दा नै नेकपा (एमाले) भित्र समस्याका रूपमा गुटबन्दी कायम थियो । हामीले पार्टीभित्र लोकतान्त्रीकरणको उन्नत अभ्यास त आरम्भ ग¥यौँ तर त्यसलाई व्यवस्थित गर्न नसक्दा दुर्भाग्यवश त्यो स्थायी गुटबन्दीका रूपमा विकास भइरहेको थियो । आठौँ महाधिवेशनदेखि गुटबन्दी जवर्जस्तरूपमा झाँगिदै मात्र आएन, माथिदेखि तलसम्म संस्थागत हुने अवस्था सिर्जना भयो । पछिल्लो समय त्यस गुटबन्दीको प्रवक्ताका रूपमा माधवकुमार नेपाल प्रकट हुनुभयो । यही पृष्ठभूमिमा माओवादी केन्द्रभित्रको संगठनात्मक अराजकता र नेकपा (एमाले) भित्रको गुटबन्दीको गठजोडबाट प्रकट भएको अराजकताको परिणामस्वरूप पार्टीमा संकट खडा भएको छ । कम्युनिष्ट आन्दोलनको जीवनमा सिर्जित यति ठूलो घटनाको समीक्षा हामीले वस्तुनिष्ठ रूपमा गर्न सकौँला÷नसकौँला । तर, आउने पुस्ताले भए पनि यो काम गर्नैपर्छ ।
हामीले निकै दुःख गरेर विचार, संगठन र विधानमा आधारित भएर संचालित हुने पार्टी बनाएका थियौँ । विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै नेकपा (एमाले) बनाएपछि यसलाई निश्चित मान्यतामा चल्ने व्यवस्थित पार्टीका रूपमा स्थापित गरेका थियौँ । तर, आज भन्न पनि अप्ठेरो लाग्छ– आफ्नो पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकारलाई हटाएर विरोधी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा निवेदन दिने, सर्वोच्च अदालतमा मुद्दा हाल्ने र त्यहाँ सनाखत गर्न सशरीर उपस्थित हुने जस्ता अराजनीतिक मात्र होइन, घृणित, अनैतिक र अपराधजन्य काम यही पार्टीको नेतृत्वमा बसिसकेका र यही पार्टीबाट निर्वाचित नेताहरूले गरे । यति अक्षम्य, निन्दनीय र अनैतिक काम संसदीय लोकतान्त्रिक प्रणालीमा कहीँकतै भएको पाइँदैन ।
तपाईं–हामीले चाहना गरौँ वा नगरौँ– हरेक वस्तु, विचार र प्रणालीहरू गतिमा चलेका हुन्छन् । तिनीहरू सकारात्मक र नकारात्मक दुवै दिशामा गतिवान हुन्छन् । हामी एउटा अवस्थाबाट सोच्छौँ– नेता कसरी त्यस्ता भए ? हामीले भेउ पाइरहेका हुँदैनौँ । यसबीचमा मलाई केही ‘फ्ल्यास व्याक’ भइरहेको छ । म सोच्छु– के आज मात्र यस्तो घटना भएको हो त ? होइन । विगतदेखि नै यस्तो हुँदै आएको छ र पार्टीले यस्ता संकटहरू सामना गर्दै पनि आएको छ ।
म २०३५ सालको कोअर्डिनेशन केन्द्रको एउटा घटना सम्झिन्छु । भर्खर आगो बल्दै थियो, क्रान्तिकारी परिवर्तनका झिल्काहरू निस्किँदै थिए । झापा संघर्षबाट भर्खर ‘कोअर्डिनेशन केन्द्र’ (कोके) बनाएर हामीले आन्दोलनलाई संगठित गरिरहेका थियौँ र त्यसले क्रान्तिकारी समूहलाई एकतावद्ध गरिरहेको थियो । हामीले त्यसको तेस्रो सम्मेलन आयोजना ग¥यौँ, जसको आयोजना र व्यवस्थापन म आफैँले नै गरेको थिएँ । भर्खर नख्खु जेल तोडेर निस्किनुभएका सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, वीरबहादुर लामाहरूदेखि ‘मुक्ति मोर्चा’ समूहबाट आउनुभएका मदन भण्डारी, मोदनाथ प्रश्रित, जीवराज आश्रितहरूसहित अत्यन्त प्रतिकुलताका बीचमा हामीले सम्मेलन गरिरहेका थियौँ । त्यस सम्मेलनका बेला पोलिट्ब्युरो र केन्द्रीय कमिटीका सदस्यहरूबाट एकै पटक दुई कोणबाट नेतृत्वमाथि हमला गरियोः एउटा कोण थियो– कोकेको नेतृत्व दक्षिणपन्थी भयो, बिग्रियो ! अर्को कोण थियो– भारतको नक्सलवाडी आन्दोलनबाट सिकेको कुरा जस्ताको तस्तै लागू गरिँदैछ, सप्रिने छाँट छैन ! अनि यी दुवैले एउटै बोली बोल्दै थिए– ‘हेडक्वाटरमाथि हमला गर, यो काम लाग्दैन !’ कमरेडहरू सम्झिनुस् त– त्यसबेला हामीलाई कस्तो भयो होला ? पार्टीका शीर्षस्थ नेताहरूले हमला गरेर हामीलाई विचलित बनाउन खोज्दा पनि हामी विचलित भएनौँ र हामीले त्यस्ता हमलाको सामना गर्दै प्रतिकूलतालाई टा¥यौँ । फलस्वरूप त्यसो भन्नेहरू सबै लाखापाखा लागे र त्यो अध्याय सकियो । अहिले पनि सम्झिँदा आङ सिरिङ्ग हुन्छ– कस्तो प्रतिकुलताका बीच हामीले संगठनलाई अघि बढाएका रहेछौँ !
पार्टीभित्रका समस्याका सन्दर्भमा म २०३९ सालको घटना पनि सम्झिन्छु । लाग्थ्यो– त्यतिबेलका महासचिव सीपी मैनाली एक मिथक नायक हुनुहुन्छ, एक विम्ब हुनुहुन्छ । उहाँ बायुपङ्खी घोडा चढेर तरवार चलाउँदै हिँडेको एउटा पौरखी राजकुमार जस्तो प्रतीत थियो । तर, निरंकुश र निर्दलीय पञ्चायतका विरुद्धमा लड्नुपर्ने बेलामा उहाँ स्वयम् पार्टीको समस्याका रूपमा देखा पर्नुभयो । सिङ्गो पार्टी पंक्ति एकातर्फ र सीपी मैनाली अर्कोतर्फ उभिने स्थितिको हामीले कल्पना पनि गरेका थिएनौँ । सीपी मैनालीपछि पार्टीको नेतृत्व कसले गर्छ ? हामीसँग उत्तर थिएन । तर पनि, पार्टीले कठोरतापूर्वक कदम चाल्यो र त्यस विवादलाई चिर्दै हामीले पार्टी र आन्दोलनलाई अगाडि बढायौँ ।
०४६ सालमा नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव बनेपछि पार्टी नयाँ ऊर्जाका साथ अघि बढ्दा नयाँ–नयाँ सम्भावनाका ढोकाहरू खुले । ०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्रीलाई पराजित गरेपछि मदन भण्डारीको पृथक व्यक्तित्व मात्र सार्वजनिक रूपमा स्थापित भएन, पार्टीको प्रतिष्ठाले नै नयाँ उचाइँ हासिल गरेको थियो । सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ताहरू ढल्दै गर्दा मदन भण्डारीकै अगुवाइमा नेकपा (माक्र्सवादी) र नेकपा (माले) का बीचमा एकता भएर नेकपा (एमाले) बनाउनु वास्तवमा कम्युनिस्ट आन्दोलनको निर्णायक एकीकरण थियो । सम्भवतः यस्तै कारणहरूले होला पुँजीवादको केन्द्रबाट निस्किने ‘न्युजविक’ ले ‘नेपालमा कार्ल माक्र्स जीवित छन्’ (कार्ल माक्र्स लिभ्स इन नेपाल) भन्ने शीर्षकमा उहाँको अन्तर्वार्ता नै छापेको थियो ।
पार्टीमा कहिलेकाहीँ कस्तोसम्म हुन्छ भन्ने हामीले देखे–भोगेकै छौँ । ०४९ मा हामीले दशरथ रंगशालामा पाँचौँ राष्ट्रिय महाधिवेशन गर्दै गर्दा हजारौँहजार कार्यकर्ता र समर्थकहरूले मदन भण्डारीलाई सुन्न चाहिरहेका थिए । उद्घाटन समारोहमा सीपी मैनाली, माधवकुमार नेपाल, झलनाथ खनाल र मनमोहन अधिकारीले बोल्नुभयो तर पार्टीका महासचिव मदन भण्डारीलाई बोल्न दिइएन । लोकप्रियताको शिखरमा पुगेको त्यसबेलामा पनि मदन भण्डारीलाई महासचिवबाट हटाउनुपर्छ भनेर नेकपा (एमाले) का नेताहरूले हस्ताक्षर गर्दै हिँडेका थिए । पार्टी जीम्मेवारीबाट अलग भएपछि कुनै दिन यी चीजहरू संस्मरणको रुपमा लेखौँला भन्ने लागेको छ । मैले अहिले खाली पार्टी जीवनमा यस्ता खालका काम पनि हुन्छन् भन्ने सन्दर्भ मात्र यहाँ उठाउन चाहेको हुँ ।
०५४ सालको घटना त हामी सबैका दिमागमा ताजै छ । राष्ट्रवादका नाममा के मात्र भएन ! ४० प्रतिशतभन्दा बढी निर्वाचित सांसदहरूलाई लिएर बामदेव गौतमले पार्टी विभाजन गर्नुभयो । तर, चार वर्ष बित्दा नबित्दै विभाजनको औचित्य पुष्टि भएन र आफ्नो शक्ति क्षय गरेर उहाँ पार्टीमै फर्किनुप¥यो । त्यसबेला हामीले के–के सामना गर्नु परेन ! पार्टी त एक भयो तर ती आरोप र क्षतिहरूको पूर्ति कहिल्यै भएन । किनभने, हामी सार्वजनिक विश्वास र सार्वजनिक परीक्षणमा चल्ने शक्तिका लागि आफूले गरेका काम र बोलेका विषयहरू फिर्ता लिन चाहेर पनि फिर्ता हुँदैनन् ।
आज म सोच्छु– हिसाव गर्दा माधवकुमार नेपालसँग मैले ४५ वर्ष सँगै काम गरेछु । उहाँ जिल्ला कमिटीको सचिव हुँदा म उपसचिव थिएँ । तीन पटक पार्टीको महासचिव भए पनि उहाँको धित मरेको रहेनछ । उहाँलाई के परेको रहेछ भने ‘नेकपा (एमाले) मेरो मौजा हो, अरूहरू आएर खुट्टा हल्लाउँदैछन् !’ उहाँ बारम्बार भन्नुहुन्छ, ‘यो माधवकुमार नेपाल नेता हो नेता, कार्यकर्ता होइन ।’ यति बर्ष पार्टीको नेतृत्व गरेको र मुलुकको प्रधानमन्त्री भइसकेको मानिसले के भन्नुभएको होला ? उहाँ नेता हो भन्ने सबैलाई थाहा छ । उहाँले यसो भन्दै गर्दा म के बुझ्छु भने उहाँ कुण्ठाग्रस्त मनस्थितिको शिकार हुनुभएको छ । प्रचण्डले आफ्नो स्वभाव अनुसार पार्टीको अन्तरविरोधमा खेल्दा माधव नेपाल प्रयोग हुनुभएको छ । यस घटनालाई यही रूपमा बुझेर हामीले पार्टीलाई अघि बढाउनुपर्छ ।
हिजो र आजको परिस्थिति समान छैन, बदलिएको छ । हामीले आन्दोलन सुरु गर्दाकै अवस्था खोजेर पाइन्न । कुनै बेला थियो– बुबा जेल पर्दा छोरो पार्टीमा लाग्थ्यो, काका निर्वासित हुँदा भतिजो पार्टीमा लाग्थ्यो, मामा मारिँदा भाञ्जा पार्टीमा लाग्थ्यो । किनकि, त्यो अधिकार प्राप्तिको कालखण्ड थियो र त्यसले मानिसहरूलाई आकर्षित गथ्र्यो । त्याग, निर्वासन, बलिदान, जेल र मृत्युका कुरा जसले गर्न सक्थ्यो, ऊ नेता हुन्थ्यो । अहिले त्यो कालखण्ड छैन र राजनीतिक अधिकार प्राप्तिका कुरा मात्र गरेर पार्टी चल्दैन । नयाँ पिँढीका युवाहरूले त्यो कुरा पचाउँदैनन् । हामीले उनीहरूलाई सम्बोधन गर्ने गरी हाम्रा कार्यक्रमहरूलाई अघि बढाउनुपर्छ ।
पछिल्लो समय दोस्रो कालखण्डमा समानुपातिकता र समावेशीताको कुरा आउँदा त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्था आयो । जनसंख्याका आधारमा राज्यका निकायमा प्रतिनिधित्वको कुरा उठाइयो र जसले त्यो कुरा उठायो, उही नेता बन्यो । अब त्यो कुरा पनि संविधानमा सम्बोधन भइसकाले त्यही कुरा उठाएर कोही नेता बन्दैन र कुनै पार्टी चल्दैन । किनकि, अब राजनीतिको धार बदलिएको छ ।
तेस्रो कालखण्डमा अब राजनीतिको धार आर्थिक सुधार र समुन्नतिमा केन्द्रित भएको छ । अब जसले आर्थिक समृद्धिको नीति, कार्यक्रम र आचरण देखाउँछ, ऊ नै नेतृत्वमा पुग्छ । यसै एजेन्डालाई उठाउने पार्टी मात्र सफल हुन्छ । किनभने, अब आर्थिक विकास र समृद्धिको मुद्दा नै प्रमुख मुद्दा बनिसकेको छ । यस कुरालाई ध्यानमा राखेर हामीले हाम्रो राजनीतिक कार्यदिशा निर्धारण गर्नुपर्छ । अहिले नेकपा (एमाले) त्यही काममा केन्द्रित भइरहेको छ ।
हामीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’ यही आर्थिक समृद्धि र विकासलाई कार्यान्वयन गर्ने केन्द्रीय नीतिको प्रस्फुटन हो । हामीले अब आफूलाई यही ध्येयमा केन्द्रित गर्नुपर्छ र अद्यावधिक (अपडेटेड) हुनुपर्छ । त्यसो हुन नसकेमा हामी असान्दर्भिक (आउटडेटेड) हुन्छौँ । हामी एमालेजनलाई असान्दर्भिक हुने छुट छैन ।
हाम्रा योजना, नीति र क्रियाकलापहरू आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्छ र त्यसका लागि हाम्रो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ । किनभने, अबको राजनीति सामन्तवादका अवशेषहरूको अन्त्य गरेर समाजवादतर्फ उन्मुख बनाउनु छ । त्यसका लागि राजनीति बुझेका विज्ञसँग राजनीतिक व्यक्तिहरूको समन्वय चाहिन्छ । यतिबेला निकै सोच विचार गरेर मुलुकलाई सकारात्मक परिवर्तनमा लैजान हामीले ध्यान दिनुपर्ने बेला छ । नेकपा (एमाले)को सही राजनीतिक कार्यदिशाका लागि विज्ञहरूको सहयोग चाहिन्छ । बुद्धिजीवी परिषद्मा आवद्ध व्यक्तित्वहरू रचनात्मक ढंगले अगाडि बढ्नु पर्छ र पार्टीका लागि ‘थिंक ट्याङ्क’का रूपमा प्रस्तुत हुनुपर्छ । सूत्रमा भन्दा ‘सही राजनीतिको अस्थिपञ्जरमा विषय–विज्ञताको मांसपेशी’ भरेर समृद्धिको सुन्दर तस्वीर बनाउनुपर्छ ।
हामी हाम्रो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको संघारमा छौँ । हामी यस महाधिवेशनबाट पार्टीभित्रका सबै विवादहरू समाधन गर्नेछौँ र तानातान नगरीकन नेतृत्व चयन गर्नेछौँ । विधान महाधिवेशन उत्साहजनक ढंगले सम्पन्न गरेझैँ महाधिवेशनमा नेतृत्व चयन गर्नेछौँ । हामी उन्नत तहको समझदारीका साथ पार्टीलाई एकतावद्ध पारेर अघि बढ्छौँ र देशलाई अग्रगति दिने अभियानमा नेतृत्व गर्छौं । ‘मूलबाटो’बाट

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु