काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले काठमाडौँमा बिहीबार आयोजना गरेको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा उहाँले जोड दिनुभएको छ । शान्ति, सुरक्षा, विकास निर्माण र सुशासनको आधारशीला भएको उल्लेख गर्नुहुँदै उहाँले मुलुकको अस्तित्व जोगाउन तथा नागरिकको सुरक्षित जीवन सम्भव बनाउन सबल र सुदृढ आन्तरिक तथा बाह्य सुरक्षा प्रबन्ध आवश्यक भएको बताउनुभयो ।

‘सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न विशेष जोड दिँदै आएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

राष्ट्र र जनताप्रति अनुशासित, इमान्दार, व्यावसायिक र उत्पादनशील भएर काम गर्न उहाँले सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले सीमा अपराध नियन्त्रणलगायत राष्ट्रियता तथा मुलुकको अस्मिता जोगाउन अग्रपङ्क्तिमा खटिएर काम गर्दैआएकामा सशस्त्र प्रहरीको प्रशंसा गर्नुभयो ।

नेपालको सुरक्षा निकाय आतङ्कवाद र सीमा अपराध नियन्त्रण गर्न सक्षम रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले भूकम्प र कोभिड–१९ जस्ता सङ्कट र विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि सशस्त्र प्रहरीले गरेको काम अनुकरणीय रहेको स्मरण गर्नुभयो।

सम्बन्धित खबरहरु