काठमाडौं । चितवनको नारायणी नदी किनारमा तयार भएको मञ्चमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सँग–सँगै पुग्नु भएको छ ।

देउवा हेलिकप्टरबाट एमाले महाधिवेशनमा भाग लिनकै लागि चितवन पुग्नु भएको हो । करिब ५ महिनापछि देउवा र ओली एउटै मञ्चमा यसरी भेट भएको हो ।

सर्वोच्च अदालतको असार २८ गतेको आदेशपछि प्रधानमन्त्री पदबाट हटेसँगै ओली र देउवाबीच औपचारिक रूपमा भेटवार्ता भएको थिएन । नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुग्नुभएको छ ।

नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर उहाँ काठमाडौँ फर्कनुहुनेछ । एमाले अधिवेशनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का अध्यक्ष महन्थ ठाकुरलगायत विभिन्न दलका नेता चितवन पुग्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित हुनुभएको छैन ।

महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेता उपस्थित हुनुभएको छ । महाधिवेशन १२ गतेसम्म हुँदैछ ।

सम्बन्धित खबरहरु