जनबोली न्युज डेस्क, काठमाडौ । २०७१ माघ ५ गते मध्यरात भएको संविधान सभाको बैठकमा एमाओवादी लगायत १९ दलीय विपक्षी मोर्चाहरुले प्रधानमन्त्री सुशील कोइरालामाथि मुक्का प्रहार गरेको खुलासा भएको छ । प्रेस चौतारी नेपालले काठमाडौमा आयोजना गरेको अन्तर सम्वाद कार्यक्रममा वरिष्ठ नेता माधबकुमार नेपालले त्यस रात प्रधानमन्त्रीमाथि समेत मुक्का प्रहार भएकोे खुलासा गर्दै भन्नु भयो, प्रम कोइरालाले एमाओवादीको लाज जोगाउन पनि आफु माथि प्रहार भएको भन्दै हिँड्नु भएन । त्यही रात एमाले अध्यक्ष केपी ओली तथा उपाध्यक्ष विद्या भण्डारी माथि समेत माईक प्रहार भएको घटना सार्वजनिक भए पनि प्रम कोइरालामाथि प्रहार भएको घटना सार्वजनिक भएको थिएन ।
नेता नेपालले, प्रम कोइरालाले संविधान निर्माणकालागि सहमति जुटाउन माओवादीले गरेका अपमान साँच्चै नै सहेको उल्लेख गरेका थिए । मै माथि त्यसरी आक्रमण भएको भएपनि मैले छोड्ने थिईँन होला तर प्रम कोइरालाले माफ गर्नुभयो । यद्यपि उक्त घटना पछि प्रम कोइराला र एमाले संसदीय दलका नेता केपी ओलीले सभाध्यक्ष सुबास नेम्वाङलाई प्रम निवास बालुवाटारमा बोलाएर आफुहरुको सुरक्षाको बारेमा गम्भिर छलफल गरेका थिए । यस घटनालाई केही सञ्चारमाध्यमले सत्तापक्ष बैठकमा सभामुख सहभागी भएको प्रचार गरेका थिए । बालवाटार बैठक पछि संसदको सुरक्षामा कडाई गरिएको थियो । त्यसलाई एमाओवादी अध्यक्ष प्रचण्डले संविधान सभालार्ई ब्यारेक र जेल बनाईएको टिप्पणी गरेका थिए । प्रममाथि समेत आक्रमण भएको त्यो रातको बितण्डमा करिब ३० लाख बराबरको क्षति भएको थियो ।
कार्यक्रममा नेता नेपालले रिसाएका एमाओवादी लगायतका विपक्षीलाई फकाएर वार्तामा ल्याई छाड्ने समेत उद्घोष गरे । यस अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफुले फिल्म हेरेको प्रसंग जोड्दै, प्रेमी–प्रेमीकाको सम्बन्ध बिग्रिएर पुनः पुनर्मिलन भएको फिल्म हेर्र्न पत्रकारहरुलाई सुझाव दिन आग्रह गरे । यस्तो फिल्म हेर्न पाईयो भने हाम्रो पनि कथामा जस्तै मिलन हुनेछ ।
नेपालले मधेशी मोर्चाका नेता विजय गच्दारले अघि सारेको मध्यमार्गीमा प्रचण्ड सहमत भए तत्काल सहमति हुने पनि बताए । नेपालले आन्दोलनको मात्रै धम्की नदिन एमाओवादी नेतृत्वको मोर्चालाई चेतावनी दिँदै एमाले पनि आन्दोलनकै पृष्ठबाट आएको पार्टी नभुल्न आग्रह गरे । यद्यपि नेता नेपालले कांग्रेस र एमालेले हतारमा नौ बुँदे सहमति गरेर केही गल्ती गरेको भएता पनि त्यसलाई सच्याएर अघि बढ्न एमाले प्रतिबद्ध रहेका जनाए । कार्यक्रम प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो