चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गर्नुभएको छ ।

सबै पदमा सर्वसम्मतका लागि अध्यक्ष ओलीले नामावली प्रस्तुत गर्नुभएको हो ।

यद्यपि अध्यक्ष पदमा भने सर्वसम्मत हुन सकेन र निर्वाचनबाट छिनोफानो हुने निश्चित भएको छ ।

राति अबेर सुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य सहित पदाधिकारी प्रस्ताव गर्नुभयो ।

लगतै अध्यक्ष मण्डलमा छलफलपछि उहाँले भीम रावललाई मनाउने प्रयास गर्नुभयो ।

आफूले एकताका निम्ति धेरै प्रयास गरेको भन्दै उहाँले रावललाई भन्नुभयो, सिंगै हलले भनेको भन्दा बाहिर नजान कमरेड भीम रावललाई आग्रह गर्दछु ।’

तर रावल उहाँको प्रस्तावमा सहमत हुनु भएन र अध्यक्षमा उम्मेदवार हुने स्पष्ट पार्नुभयो । हलमा होहाल्ला भएपछि ओलीले शान्त रहन आग्रह गर्नुभयो र रावललाई उठ्न दिनुपर्ने धारणा राख्नुभयो ।

लगतै अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि १९ सदस्यीय पदाधिकारी प्रस्ताव गर्नुभयो । आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गर्नुभएका उहाँले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम लिनुभयो ।

उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्बाङ पर्नुभएको छ ।

सुरुमा उहाँले वरिष्ठ उपाध्यक्षमा दावी गर्दै आउनुभएका नेम्बाङको नाम छुटाउनुभएको थियो ।

अध्यक्ष मण्डलका अरु सदस्यले सम्झाएपछि झण्डै छुटेछ भन्दै नेम्बाङलाई पनि उपाध्यक्षमा राख्नुभयो । उहाँलाई मनाएर नै यो पद दिइएको बुझिएको छ ।

यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सार्नुभएका ओलीले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गर्नुभएको छ ।

सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम लिनुभएको छ ।

आफूले अघि सारेका नाममा सहमति जनाउन र त्यसलाई उम्मेदवारी दर्ता गर्न आग्रह गर्नुभएको थियो । लगतै उहाँले बन्दसत्रको यो सेसन अन्त्य भएको घोषणा गर्नुभयो । हलले तालि बजाएर अनुमोदन गरेको थियो ।

यस्तो छ सूची

  • अध्यक्ष: केपी शर्मा ओली
  • वरिष्ठ उपाध्यक्ष: ईश्वर पोखरेल
  • उपाध्यक्ष: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ
  • महासचिव: शंकर पोखरेल
  • उपमहासचिव: प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल
  • सचिव: टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल
हार्दिक बधाई !!!

सम्बन्धित खबरहरु