काठमाडौ । नेकपा एमालेको नेतृत्व चयनमा राति धाँधली भएको खुल्न आएको छ ।

एमालेका नेता नरबहादुर बिकले नेतृत्व चयनमा धाँधली भएको दावी गर्नुभएको हो ।

प्यानल नबनाउने, हात जोडेर भोट माग्ने पार्टीको निर्णय उल्लंघन भएको भन्दै उहाँले चुनाव निष्पक्ष नभएको दावी गर्नुभयो ।

‘जब पार्टीले निर्णय गरेको छ, हामी प्यानल बनाउँदैनौं, इन्डिभिजुअलरुपमा उम्मेदवार घोषणा गरेर कार्यकर्तालाई चुन्ने अधिकार स्वतन्त्र राख्ने ।

त्यसैले यो त सरासर धाँधली हो,’ उहाँले दावी गर्नुभयो ।

अध्यक्षका उम्मेदवार भीम रावल पक्षका नेता नरबहादुरले केपी ओली पक्षले खुलमखुल्ला प्यानल बनाएर भीम रावल र उहाँका मान्छेलाई भोट नदिनू भनेर मतदाताको स्वतन्त्र निर्णय गर्ने अधिकारमै बन्देज गरी राजनीतिक अपराधीकरण गरेको आरोपसमेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले खासगरी कमरेड केपी ओलीको पक्षधरले कमरेड भीम रावललाई भोट नदिनू र भीम रावलसँग जोडिएकाहरूलाई भोट नदिनू भनेर पर्चामा समेत कट गरेर बाँडेको पाइँदाखेरि यो सरासर पार्टीको निर्णयविरुद्ध हो, पार्टीका नेता कार्यकर्ताको भावनाविरुद्ध हो, जनमतको विरुद्ध हो, यो एउटा राजनीतिक अपराधीकरण हो भन्ने मैले बुझेको छु ।’

रावल पक्ष जित्न सक्ने शक्ति देखिएपछि अनेकौँ हत्कण्डा गरेको उहाँको दावी थियो ।

सम्बन्धित खबरहरु