काठमाडौं । यात्रुबाहक विमानको आपतकालीन अवतरण गरिएको छ । भारत, बैंगलोरबाट पटना आउँदै गरेको विमानको नागपुरमा आपतकालीन अवतरण गरिएको हो । नागपुर विमानस्थलका एक अधिकारीले गोएयरको विमान प्राविधिक समस्याका कारण आपतकालीन अवतरण गरिएको जानकारी दिएका हुन् ।

विमानमा १३९ यात्रु र चालक दलका सदस्य सवार थिए । इन्जिन फेल भएर विमान नागपुरमा अवतरण गरेको विमानस्थल निर्देशक आबिद रुहीले बताउनुभयो । यो घटना शनिबार बिहान भएको हो । शनिबार ११ः१५ मा विमानमा सवार सबै सकुशल अवतरण भएका थिए ।

रुहीले भने, ‘गोएयरको विमानका पाइलटले नागपुर एटीसीलाई सम्पर्क गरे र विमानको एउटा इन्जिनमा समस्या भएको जानकारी दिए । पाइलटले आकस्मिक अवतरणका लागि अपिल गरेका थिए ।’ विमानमा चालक दलका सदस्यबाहेक १३९ यात्रु थिए ।

पाइलटले जानकारी दिएलगत्तै विमानस्थलमा आपतकालिन घोषणा गरिएको उनले बताए । धावनमार्गमा दमकल, चिकित्सक, एम्बुलेन्सलगायत सबै तयारी पूरा थियो । सौभाग्यवश विमानमा भएका सबैको सकुशल अवतरण भयो ।

सम्बन्धित खबरहरु