काठमाडौं । सरकारले इजरायल रोजगारीका छनोट भएका युवाका लागि काठमाडौँका विभिन्न पाँच अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार इजरायलका छनोट भएकालाई वीर अस्पताल, निजामती सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी बल अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ ।

विभागले मङ्गलबार सूचना सार्वजनिक गर्दै तोकिएका यी केन्द्रमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रयोजनका लागि इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिवा)द्वारा छनोट भएका र कोरोनाविरुद्धको खोप लगाउन बाँकी उम्मेदवारलाई खोप लगाउन विभागले अनुरोधसमेत गरेको छ ।

विभागका निर्देशक एवं इजरायल शाखाका प्रमुख डम्बर सुुनुवारले इजरायल जान छनोट भएका तर अहिलेसम्म खोप नलगाएकालाई खोप लगाउने अस्पतालको व्यवस्था गरिएको जानकारी दिनुुभयो ।

पहिलो प्राथमिकता खोप नलगाएकालाई हुने भन्दै उहाँले खोप लगाएर पनि छ महिना कटिसकेकालाई पनि खोपका व्यवस्थाका लागि पहल हुने बताउनुभयो ।

उहाँका अनुसार इजरायल जानेलाई भेरोसिल खोप दिने विषयमा पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या मन्त्रालयबीच सहमति भइसकेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु