काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु चेल्सी, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

शिर्ष स्थानको चेल्सीले वाट्फोर्डलाई २–१ ले हरायो । चेल्सीका लागि मेसन माउन्ट र हकिम जियचले एक एक गोल गर्दा वाट्फोर्डका इम्यानुएल डेनिसले पहिलो गोल गरेका थिए ।

गएराती भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई २–१ ले हरायो । उसका लागि रुबेन डियास र बर्नार्डो सिल्भाले एक एक गोल गरे । भिल्लाका डग्लस लुइजले एक गोल फर्काए ।

उपाधि दावेदार लिभरपुलले गएराति एभर्टनमाथि ४–१ को जित निकाल्यो । मर्सीसाइड डर्बी खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गर्दा जोर्डन हेन्डर्सन र डिएगो योटाले एक एक गोल थपे । एभर्टनका डेमाराई ग्रेले एक गोल फर्काए ।

प्रिमियर लिगकै अन्य खेलहरुमा साउथह्याम्पटन र लेष्टर सिटीले २–२ गोलको बराबरी खेल्दा वेष्ट ह्याम युनाइटेड र ब्राइटनले १–१ गोलको तथा वुल्भरह्याम्पटन वान्डरर्स र बर्न्लेले गोलरहित बराबरी खेलेका छन् ।

गएरातिका खेलहरुपछि लिग तालिकामा १४ खेलबाट ३३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ । समान खेलबाट ३२ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लिभरपुलको ३१ अंक छ ।

 

सम्बन्धित खबरहरु