काठमाडौ । अहिले एउटा तस्वीर भाइरल बनेको छ । आइपर्यो भने नेपालीले के गर्न सक्दैन जस्ता क्याप्सनमा यो तस्वीर खुबै सेयर भइरहेको छ ।

चारपाङ्ग्रे हलुका सवारी मानिसहरुले धकेलेको त तपाईं हामीले देखेका छौं ।

तर बुधबार बाजुरा विमानस्थलमा फरक दृश्य देखियो, जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका थिए । उक्त भिडियो अहिले सर्वत्र फैलिएको छ ।

तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो ।

जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्कियो । जहाजका कारण ट्याक्सी–वे अवरुद्ध भयो ।

विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न यात्रुहरु प्रतीक्षारत थिए । तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नपाउने अवस्था थिएन ।

विमानलाई सार्न विमानस्थलमा अरु कुनै साधन नै थिएन । विमान एकातर्फ नलगाएसम्म अरु विमानका उडान बन्द हुने भए ।

त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए । त्यसपछि नेपालगञ्जमा रहेको तारा एयरको अर्को जहाजमार्फत टायर र इन्जिनियर लिएर बाजुरा पुग्यो ।

टायर फिट गरिसकेपछि दुबै जहाज अहिले नेपालगञ्ज अवतरण गरिसकेको बर्तौलाले जानकारी दिनुभयो ।

तर यो दृष्य टिकटकभरी फैलिएको छ । तस्वीरहरुले सामाजिक सञ्जाल छपक्कै बनाएको छ । हैन त पाए भने नेपालीले के गर्न सक्दैन ?

 

सम्बन्धित खबरहरु