काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएको भन्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले नेपालमा कोरोना सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको जानकारी दिँदै हालसम्म उक्त भेरियन्ट नेपालमा फेला नपरेको बताउनुभयो ।

उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको जानकारी दिनुभयो । नयाँ देखिएको ओमिक्रोन भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्ररूपमा एक भएर काम गरिरहेको अवस्था उहाँको भनाइ छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको जनाएको छ । डा. अधिकारीले ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेबार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउनसमेत मन्त्रालयले अनुरोध गरेको बताउनुभयो ।

सम्बन्धित खबरहरु