सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठको स्मृतिमा सोमबार देशैभर श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।
स्मृतिमा ललितपुरको बागडोलस्थित ‘कृष्णमोहन–नुडुप स्मृति उद्यान’मा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
तस्विर APF
कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले स्व.श्रेष्ठ दम्पतीको शालिकमा पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, अवकाश प्राप्त प्रधानसेनापति प्यारजंग थापा, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय बासुदेव वली र सनतकुमार बस्नेत, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु ध्रुबबहादुर प्रधान, रमेश चन्द ठकुरी, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ई.रमा वन्त (राजभण्डारी) लगायत संघका पदाधिकारीहरु एवं बरिष्ठ सुरक्षा अधिकृतहरु, साथै प्रतिष्ठानका पदाधिकारीहरु तथा अन्य विभिन्न क्षेत्रका महानुभावहरुले पुष्पगुच्छा चढाई स्व.श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
तस्विर APF
वि.सं. २०५९ साल माघ १२ गते प्रातभ्रमणमा रहेको वेला सोही स्थानमा बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ तथा उहाँकी धर्मपत्नी सशस्त्र प्रहरी परिवार महिला संघकी संस्थापक अध्यक्ष स्व.नुडुप श्रेष्ठ र अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक स्व.सूर्यप्रसाद रेग्मीले गोली प्रहारबाट वीरगती प्राप्त गरेका थिए ।
त्यसठाउँमा निर्माण गरिएको ‘कृष्णमोहन–नुडुप स्मृति उद्यान’मा प्रत्येक वर्ष सो प्रतिष्ठानले उनीहरुको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै आएको छ ।
यस वर्षको ‘कृष्णमोहन–नुडुप शान्ति पुरस्कार’ निर्वाचन आयोगका आयुक्त श्रीमती इला शर्मा तथा साहित्यकार विश्वविमोहन श्रेष्ठलाई प्रदान गरिएको छ ।
जनही दश हजार रुपैयाँ र सम्मानपत्रसहितको उक्त पुरस्कार विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई स्व.श्रेष्ठ दम्पतीको स्मृतिमा सो प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको छ ।
तस्विर APF
राष्ट्रसेवकको रुपमा रहेर उत्कृष्ट योगदान पु¥याएको भन्दै सशस्त्र प्रहरी नायव निरीक्षक रामहरि रिमाल र प्रहरी नायव निरीक्षक विष्णुकुमारी गुरुङ्गलाई कदरपत्रसहित जनही सात हजार रुपैयाँ राशीको ‘कृष्णमोहन–नुडुप उत्कृष्ट कार्य सम्पादन पुरस्कार’ प्रदान गरिएको छ भने सात हजार रुपैयाँ पुरस्कार राशीको सूर्य रेग्मी उत्कृष्ट अगंरक्षक पुरस्कार सशस्त्र प्रहरी नायव निरीक्षक प्रेमकुमार राउतलाई प्रदान गरिएको छ ।
यसैगरी बागडोल क्षेत्रबाट २०७० सालको कक्षा आठको परीक्षामा उत्कृष्ट अंक ल्याइ उतिर्ण हुने श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालय जावलाखेलका छात्र सन्तोष पाण्डे र छात्रा मुना बि.क.लाई जनही ६ हजार रुपैयाँ राशी र प्रमाणपत्रसहितको ‘कृष्णमोहन–नुडुप स्मृति जेहेन्दार छात्रवृत्ती पुरस्कार’ प्रदान गरिएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले तत्कालिन परिस्थितिलाई सामना गर्नको लागि निर्माण गरिएको सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठसँग विभिन्न समयमा संगतमा रहँदा आफूले स्व.श्रेष्ठलाई भावनामय व्यक्तित्वको रुपमा पाएको स्मरण गरे ।
उनले राष्ट्र र जनताको हितको निम्ति राज्यले दिएको आदेशलाई पालना गर्दागर्दै प्राणोत्सर्ग गर्नेहरुलाई सधैं सहिद मानिने बताउँदै स्व.कृष्णमोहन श्रेष्ठलाई न्यायिक कार्य र मानवीय हितका पक्षमा कटिबद्ध र कर्तव्यनिष्ठ राष्ट्रसेवको रुपमा सम्झिरहने उल्लेख गरे ।
सरकारले सशस्त्र प्रहरी बललाई विभिन्न किसिमका म्याण्डेट र जिम्मेवारीहरुसहित कार्यक्षेत्रमा परिचालित गर्दै आएको बताउँदै गृहमन्त्री गौतमले देशका लागि परेको वेला जस्तो सुकै त्याग र बलिदान गर्न तम्तयार रहनु पर्ने चर्चा गरे ।
उनले मुलुकले शान्ति प्रकृयाको बाटो अबलम्बन गरेको उल्लेख गदै संविधान बनेन भने के हुन्छ भन्ने जस्ता प्रश्नको अहिले अन्त्य भएकोले संविधान निर्माणको कार्यपछि शान्ति र समृद्धितर्फ राष्ट्र क्रमश अगाडि बढ्ने बताए ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गोविन्ददास श्रेष्ठले राष्ट्रको लागि ज्यानको बलिदान दिने स्व.कृष्णमोहन श्रेष्ठले गरेको योगदानको उचित कदर हुनुपर्ने उल्लेख गदै कृष्णमोहन–नुडुपको स्मृतिमा स्थापित सो प्रतिष्ठानले गर्दै आएको विविध गतिविधबारे चर्चा गरे ।
तस्विर APF
यसअघि प्रतिष्ठानकी सचिव श्रीमती निर्मला प्रधानले स्वागत मन्तव्यको क्रममा कर्तव्य निर्वाह गर्दा गर्दै बीरगति प्राप्त गर्नुभएका स्व.श्रेष्ठको योगदानलाई भूल्न नहुने बताउदै शान्ति कार्यमा टेवा पु¥याउने उद्देश्यप्रति प्रतिष्ठान परिलक्षित रहेको उल्लेख गरिन् ।
वि.सं. २००३ साल फागुन ३ गते संखुवासभा जिल्लाको चैनपुर बजारमा जन्मिएका स्व.कृष्णमोहन श्रेष्ठ २०५७ साल माघ १९ गते बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक भएका थिए । उनले वि.सं. २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।