काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले मनोनयन दर्ता गर्नुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा तीन दिनदेखि जारी एकता महाधिवेशनमा शुक्रबार अध्यक्ष पदमा थापा र लिङ्देनले उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरेर अहिलेसम्म १४१ जनाले फारम बुझाइसक्नु भएको छ ।

दिउँसो साढे १ बजेसम्मका लागि समय तोकिएकाले थप फारम आउने क्रम रहेको उहाँले जानकारी दिनुभयो ।

राप्रपामा थापा र लिङ्देनले प्यानल बनाएर उम्मेदवारी दर्ता गर्नुभएको हो । एकता महाधिवेशन भनिएको भए पनि राप्रपामा थापा र लिङ्देनबीच चुनावी प्रतिस्पर्धा चर्को देखिएको छ ।

राप्रपा महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क एक लाख रुपियाँ तोकिएको छ ।

राप्रपा विधान मस्यौदा तथा निर्वाचन समितिका सदस्य राजु बस्नेतकाअनुसार उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपियाँ मनोनयन दर्ता शुल्क निर्धारण गरिएको हो ।

सम्बन्धित खबरहरु