बीबीसी । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा आइपुगेको छ ।
हिजोबाट देखिएको यो भाइरस तिव्र फैलिएको खबर आएको छ । ओमिक्रोनमा धेरै उत्परिवर्तनहरू भएका छन् ।
दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट फेला परेको पुष्टि भएको छ।
सरकारका एक प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको थियो। उनीहरूको संसर्गमा आएका सबै व्यक्तिको परीक्षण गरिएको छ।
कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले अहिले आकस्मिक बैठक बोलाएका छन् । थप केसहरु बढेको अनुमान गरिएको छ ।
भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरिएन्ट फेला परेको पुष्टि भएको हो। अधिकारीहरूका अनुसार ती सङ्क्रमित व्यक्तिमध्ये एक जना दक्षिण अफ्रिकाबाट आएका यात्रु र अर्का कर्नाटककै चिकित्सक हुन्। सुरुमा दक्षिण अफ्रिकाबाट आएका दुई यात्रुमा ओमिक्रोन फेला परेको विवरण आएको थियो।
कर्नाटकका स्वास्थ्यमन्त्री डा. के सुधाकरका अनुसार एउटा सरकारी अस्पतालमा कार्यरत चिकित्सकको कुनै ट्राभल हिस्ट्री छैन।
अर्का व्यक्तिमा भाइरल लोड कम थियो र उनलाई एउटा निजी होटलमा आइसोलेशनमा राखिएको थियो। पछि परीक्षण गर्दा कोरोनाभाइरस नदेखिएपछि उनी स्वदेश फिर्ता गएको बीबीसी हिन्दीले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण सङ्क्रमण हुन सक्ने उच्च जोखिम भएको बताएको छ।
भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जनाको र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङका लागि पठाइएको थियो।
ती परीक्षणको परिणाम अझै आइसकेको छैन। अरू सहरमा पनि ओमिक्रोनको परीक्षण सुरु गरिएको छ। बुधवारदेखि लागु हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बाङ्ग्लादेश, हङ्कङ र इजरेलबाट आउने यात्रुलाई कडाइ गरेको छ।
भारत आइपुग्नासाथ ती यात्रुको परीक्षण गरिनेछ र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइनेछैन। सङ्क्रमण पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिनेछ र उनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइनेछ।
कोभिड पुष्टि नहुने यात्रुले सात दिन घरमा क्वारन्टीनमा बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ। विश्व स्वास्थ्य सङ्गठनले गत साता नयाँ भेरिएन्टलाई भेरिअन्ट अफ कन्सर्न का रूपमा वर्गीकरण गरेको थियो।
के छ नेपालको स्थिति ?
नेपालमा अहिलेसम्म ओमिक्रोन भेटिएको पुष्टि भएको छैन। तर कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोनाभाइरसको जीन सीक्वन्सिङ कार्यलाई पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकारीहरूका अनुसार अब पहिलेको तुलनामा चाँडोचाँडो जीन सीक्वन्सिङ गरिनेछ।
दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाभाइरसको उक्त भेरिएन्ट हालसम्म विभिन्न देशहरूमा पुगिसकेको पाइएको छ।
नेपालले पनि ओमिक्रोन भित्रिन सक्ने भन्दै दक्षिण अफ्रिकाबाट नेपाल आउनेहरूमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ओमिक्रोनको जोखिमबारे विचार गरेर परीक्षण र जीन सीक्वन्सिङको पाटोमा गरिने कामलाई तीव्रता दिन थालिएको छ।
विदेशबाट आउनेहरूको परीक्षण गर्दा कसैको पनि सङ्क्रमण पुष्टि भएको पाइयो भने उनीहरूको नमुना राखेर त्यो नमुना अनिवार्य रूपमा सीक्वन्सिङ गर्ने र अरू नियमित तरिकाले पुष्टि भइरहेका सङ्क्रमितहरूको नमुनामध्ये स्याम्प्लिङ गरेर सीक्वन्सिङ गर्ने भन्ने छ, केही दिनअघि बताउनुभएको थियो ।