काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको खुल्न आएको छ ।

सत्तारुढ दलहरुबाट नै महाअभियोग लगाउने तयारी भएको खुल्न आएको हो ।

नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्युत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन उपयुक्त हुने र तयारी भइरहेको खुलासा गर्नुभएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि छैन भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन ढिलाई गर्न हुन्न भन्ने पक्षमा आफूले सुरुदेखि नै अडान राख्दै आएको स्मरण गराउनुभयो ।

वरिष्ठ अधिवक्ता समेत रहनुभएका सांसद अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाएर पदच्युत गर्न सकिने आधार पर्याप्त रहेको दावी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँका विरुद्धमा महाअभियोग लाग्नसक्छ, लाग्नुपर्छ । र यो अरु कुराबाट भन्दा पनि उहाँ महाअभियोग बाटै जानु बेस ।

राजीनामा किन माग्ने ? संविधानतः पनि उहाँलाई महाअभियोग लगाएर विदा गर्नुपर्छ ।

र अदालतमा कोही पनि कानुनभन्दा माथि छैन भन्ने सिद्ध हामीले गर्नु पर्छ । संवैधानिक बाटोबाटै यो समस्याको समाधान गर्ने योजनालाई जारी राखौं । त्यो कुरामा हामी सबै लाग्नुपर्छ ।’

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसिर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीश जबरालाई भ्रष्टको संज्ञा दिँदै छानविनका लागि ११ सदस्यीय संसदीय छानविन समिति गठन हुने जानकारी समेत दिनुभयो । दलहरुले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन छलफल गरिरहेको सांसद बिडारीको भनाई थियो ।

सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई भविष्यमा राज्यबाट कुनै पनि सेवा, सुविधा लिन नपाउने गरी संसदीय समितिले छानविन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदमा ११ जनाको छानविन समिति बन्छ । त्यसका निम्ति दलहरुले काम गरिरहेका छन् । अबको एक हप्ता पछाडिबाट यो काम सुरु हुन्छ ।

र यस्ता प्रधानन्यायाधीशलाई भविष्यमा राज्यको सबै सेवा प्राप्त नहुने गरी कालो लिष्टमा पर्नेगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न पाउने गरी खत्तम पार्नका निम्ति प्रतिनिधिसभामा होमवर्क भइराखेको छ । काम हुन्छ ।’ उहाँले ठोकुवा गर्नुभयो ।

 

सम्बन्धित खबरहरु