काठमाडौं । बलिउड अभिनेत्री कंगना राणावतको गाडीलाई पञ्जाबको किरतपुरमा शुक्रबार किसानहरुले विरोध गर्दै रोकेका छन् ।

कंगनामाथि किसान आन्दोलनलाई लिएर लगातार विवादास्पद बयान दिने गरेको आरोप छ ।

कंगना आफ्नो सुरक्षाकर्मीसँग कारमा थिइन्, त्यही क्रममा प्रदर्शनकारीले उनको कार रोकेका हुन् । प्रदर्शनकारीले हातमा झण्डा बोकेर नारा लगाएका थिए ।

उनीहरुले किसान र कृषि कानून खारेज गर्न माग गर्नेहरू विरुद्ध आफ्नो बयानबाजीको लागि कंगनाले किसानसँग माफी माग्नुपर्ने माग गरेका थिए ।

इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै कंगनाले दाबी गरेकी छन्, ‘म यहाँ भीडले घेरिएको छु । उनीहरुले मलाई अपमानजनक शब्द प्रयोग गरी मार्ने धम्की दिइरहेका छन् ।’

कंगनाले सामाजिक सञ्जालमा किसानहरू विशेष गरी सिख समुदायविरुद्ध गरेको कथित टिप्पणीका कारण आलोचनाको सामना गर्नु परेको हो । दिल्ली सिख गुरुद्वारा प्रबन्धक समितिले इन्स्टाग्राममा सिख समुदाय विरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा कंगना विरुद्ध प्रहरीमा उजुरी पनि दायर गरेको छ ।

‘जानीजानी’ किसानहरूको विरोधलाई ‘खलिस्तानी आन्दोलन’ भनिएको आरोप उनीहरुले लगाएका छन् । अभिनेत्री राणावतले सिख समुदायको बिरूद्ध आपत्तिजनक र अपमानजनक भाषा प्रयोग गरेकी छिन् ।

देशको स्वतन्त्रताको बारेमा दिएको बयानका कारण पनि उनी विवादमा आएकी थिइन् । केहि समय पहिले भारतका राष्ट्रपिता महात्मा गान्धीविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप पनि उनीमाथि छ ।

कंगनाले सुभाषचन्द्र बोस र भगत सिंहलाई महात्मा गान्धीको समर्थन नपाएको दाबी गरेकी थिइन् । यति मात्र होइन, कंगनाले महात्म गान्धीको ‘अहिंसाको मन्त्र’ को मजाक पनि उडाएकी थिइन् ।

गान्धीको तरिकाले स्वतन्त्रता नभई भिक्षा मिल्ने उनको भनाई थियो । सन् २०१४ पछि भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि देश स्वतन्त्र भएको उनको तर्क छ ।

 

सम्बन्धित खबरहरु