काठमाडौं । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार राति १२ बजेदेखि हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।

बिहीबार बिहानदेखि पनि पुनः हिउँ परिरहेको उनीहरुले बताएका छन् । स्थानीयका अनुसार दिउँसो केही समय रोकिए पनि पुनः हिउँ परेको हो ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार हिमपात भइरहँदा चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । पानी पनि परिरहेको छ ।

‘केही बेर पानी पर्ने र केही बेर हिउँ पर्ने गरेको छ । हिजो पानी पर्‍यो । यो वर्ष हिमपात हुन सुरु भयो’, उहाँले भन्नुभयो, ‘अब हिउँ पर्ने क्रम बढ्दै जान्छ । अहिले नै जनजीवनमा भने खासै प्रभाव परेको छैन ।’

ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ । माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ ।

हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङले बताउनुभयो । तल्लो क्षेत्रसम्म हिउँ नपरे पनि चिसो भएको उहाँले बताउनुभयो । हिउँले वस्ती माथिका डाँडाहरु सेताम्मे भएका छन् ।

सम्बन्धित खबरहरु