काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा र अभिनेत्री समेत रहेकी सोही पार्टीकी नेतृ रेखा थापाबीच लडाँई बढ्दै गएको छ ।

राप्रपाको निर्वाचनमा अभिनेत्री थापाले महिला कोटाबाट केन्द्रीय महामन्त्रीमा उम्मेदवारी दिएसँगै उनीहरुबीच विवाद बढ्दै गएको हो ।

वर्तमान अध्यक्ष कमल थापालाई टक्कर दिने गरी आएका राजेन्द्र लिङदेन समूहबाट महामन्त्रीमा उठेकी नेतृ थापाले एक अन्तर्वार्तामा आफू गणतन्त्रवादी भएको स्वीकार गरेकी छिन् ।

राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी भएपनि रेखाले गणतन्त्रको वकालत गरेकोतर्फ कटाक्ष गर्दै अध्यक्ष थापाले सानो क्लिप साझा गरेका हुन् ।

चलचित्र पत्रकार प्रकाश सुवेदीसँगको पुरानो अन्तरवार्ताको क्लिप शेयर गर्दै थापाले भनेका छन्, ‘हाहाहा । नो कमेन्ट ।’ त्यसको जवाफमा अभिनेत्री थापाले पनि एक भिडियो क्लिप साझा गरेकी छिन् ।

उनले सेयर गरेको भिडियोमा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले एमसिसी नेपालको हितमा भएको भन्दै लागु गर्नुपर्ने तर्क गरेका छन् ।

पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्ताको एक क्लिप साझा गर्दै रेखा थापा लेख्छिन्, ‘नो कमेन्ट ।

राष्ट्रवादी नेता भन्न असझिलो हुन्न हाँलाई ?’ भिडियोमा अभिनेत्री थापाले आफू आफ्नो पार्टीको विचारधारा भन्दा बाहिर गएर बोलेको कुरा स्विकार गर्छिन् ।

 

सम्बन्धित खबरहरु