काठमाडौं । हालै पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा चीनले ताइवानमाथि हमला गर्न सक्ने बताएका थिए ।

यो बीचमा अमेरिकी गुप्तचर अधिकारीहरूले रुसले सन् २०२२ मा युक्रेनमाथि सैन्य हमला गर्न सक्ने बताएका छन् ।

अधिकारीहरूले अनुमान गरेका छन् कि यस सैन्य कारबाहीमा १ लाख ७५ हजार रूसी सैनिकहरू संलग्न हुनेछन् ।

बाइडेन प्रशासनका एक अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एपी समाचार एजेन्सीलाई नयाँ खुफिया जानकारीका अनुसार आधा रुसी सेना युक्रेनी सीमानजिकै विभिन्न चौकीहरूमा तैनाथ भएको बताएका हुन् ।

रुसले युक्रेनलाई नेटो गठबन्धनमा समावेश नगर्ने बाइडेन प्रशासनसँग ग्यारेन्टी मागेको बेला यस्तो खबर आएको हो ।

गुप्तचर अधिकारीहरूले सम्भावित हमला अघि युक्रेन र नाटोलाई बदनाम गर्न रसियाको सूचना अपरेशनहरूमा प्रोक्सीहरू र नक्कली मिडिया आउटलेटहरूको प्रयोगमा बृद्धि भएको फेला पारेका छन् ।

यो खुफिया रिपोर्ट पहिलो पटक अमेरिकी अखबार वाशिङ्गटन पोस्टले प्रकाशित गरेको थियो । यसअघि शुक्रबार, राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य कारबाहीले भ्लादिमिर पुटिनका लागि धेरै कठिन बनाउने चेतावनी दिएका छन् ।

रुसको लडाइ रोक्नको आफ्नो प्रशासनको उद्देश्य भएको बाइडेनको भनाई थियो । युक्रेनमा बढ्दो रुसी ट्याङ्क तैनाथीलाई लिएर अमेरिकी गुप्तचर निकायको गम्भीर चिन्ताको बीचमा बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई चेतावनी दिएका हुन् ।

उनले पत्रकारहरूलाई भने, ‘हामीले पुटिनलाई आफूले गर्न चाहेको काम गर्न धेरै गाह्रो बनाउनेछौं ।’

शुक्रबार युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युक्रेन नजिक र रुससँग सम्बद्ध क्रिमियामा हाल रुसी सेनाको संख्या ९४ हजार ३०० रहेको सांसदहरूलाई जानकारी दिएका थिए । अर्को वर्ष जनवरीमा सेनाको संख्यामा ठूलो वृद्धि हुन सक्ने चेतावनी दिइएको छ ।

 

सम्बन्धित खबरहरु