काठमाडौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले ओमिक्रोन भेरियन्ट भारतीय सीमा नाकाबाटै बढी जोखिम रहेको बताउनुभएको छ ।

उहाँले भारतसँगको सीमालाई बेलामा ध्यान दिएन भने नेपालले पछुताउनुपर्ने बताउनुभएको छ । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास विश्वभर फैलिएको छ ।

यसको जोखिम नेपालमापनि छ । किनकी खुल्ला सीमा रहेको छिमेकी मुलुक भारतमा यसको संक्रमण आइसकेको छ ।

जोखिम न्यूनिकरणका लागि नेपालले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ ।

जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आफ्ना नागरिलाई अनुरोध समेत गरिसकेको छ । तर भारतसँगको सिधा उडान र सीमा वारपार कायम नै राखेको छ ।

अन्य देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

नयाँ भेरियन्टको जोखिमबारे विश्वभर चासो बढीरहेको सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. पुनले भने भारतसँगको सीमालाई नै पहिलो ध्यान हुनुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो यो भेरियन्टको जोखिम छ र निरन्तर रहन्छ नै । किनभने भारतमा पनि यो भेरियन्ट फेला परिसकेको छ । त्यसैले अहिले हामी सचेत भएर स्वास्थ्य सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्नुपर्ने जरुरी देखिएको छ ।

तर जोखिम छ भन्दैमा धेरै आत्तिने, तर्सिने पनि गर्नुभएन । दक्षिण अफ्रिकी चिकित्सकहरुको अनुभव सुन्दा धेरै कडा देखिएको छैन कि भन्ने पनि छ । इजरायल, भारत लगायतका मुलुकमा संक्रमण पुष्टि भएका व्यक्तिहरुको अवस्था पनि सामान्य नै भएको सुनिन्छ । यद्दपि यो प्रारम्भिक अवस्था हो । पछि धेरै कुराहरु थाहा होला ।

अहिले धेरै कुरा जानकारीमा नआएको र प्रारम्भिक अवस्थालाई आधार मान्ने हो भने तर्सिनुपर्ने अवस्था छैन । तर नतर्सिने हो भने कसरी सतर्कता अपनाउँछन् भन्ने प्रश्नहरु पनि उठिरहेको हुन्छ ।

उदाहरणको लागि म गाडी चलाउने ड्राइभर हो भने म डराइ–डराइ गाडी चलाउन सक्दिनँ । तर यताबाट बस आउँछ, यताबाट मोटरसाइकल आउँछ भनेर सतर्क हुँदै चलाउनुपर्ने हुन्छ । यसरी नै संक्रमण हुनसक्छ कि भनेर होसियारी पूर्वक सतर्कता अपनाउने हो ।

बाँकी आगामी दिनमा नयाँ भेरियन्टहरुले कस्तो हर्कत देखाउँछ त्यसैको आधारमा भन्न सकिने भयो । उपायहरु पनि त्यसरी नै खोज्नुपर्ने अथवा अपनाउनुपर्ने हुन्छ ।

 

सम्बन्धित खबरहरु