काठमाडौ । पार्टीको एकता महाधिवेशनमा आफूभन्दा जुनियर नेता राजेन्द्र लिङ्देनसँग हार बेहोर्न बाध्य भएपछि राप्रपा अध्यक्ष कमल थापाले लगातार पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासलाई आरोप लगाइरनुभएको थियो ।

उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँको सचिवालयले आफूलाई हराएको दावी गर्नुभएको थियो ।

थापाको आरोपमा ज्ञानेन्द्र शाहले प्रतिक्रिया दिनुभएको छ । निर्मल निवास अर्थात उहाँको सचिवालय मार्फत हारको पीडामा थापाले अनावश्यक आरोप लगाएर आफैंलाई नङ्ग्याएको प्रतिक्रिया दिएको छ ।

कमल थापाको आरोपप्रति चर्चा गर्दै पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजाको चिन्ता र चासो देश र जनताप्रति बाहेक अरु कसैमा नरहेको स्पष्ट पार्नुभयो । पूर्व राजाको चासो कुनै पार्टी र नेतृत्वप्रति नरहेको उहाँको दाबी छ ।

त्यसो त महाधिवेशनमा कमल थापाले प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जस्ता नेताहरुको पनि साथ पाउनुभएन ।

युवा पुस्ता माझ लोकप्रिय लिङ्देनको पक्षमा अस्वाभाविक आकर्षण देखियो, जसले जनआन्दोलनपछि लगातार नेतृत्वमा रहेका कमल थापालाई ‘पार्टी सत्ता’ बाट बाहिर पुर्याइदियो ।

ट्वीटरमा हिमानीमाथि कटाक्ष, फेसबुकमा कविता ।
अध्यक्षमा पराजित भएसँगै थापाले आइतबार बिहानै सामाजिक सञ्जनलमार्फत निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण पराजय भोग्नुपरेको दावी गर्नुभयो ।

उहाँले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गर्नुभयो । सो एजेण्डाको मूल संवाहकलाई पूर्वराजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको थापाको आरोप थियो ।

थापाले हिमानी शाह नामको ट्वीटर ह्याण्डलमा राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएको पाइएपछि त्यसलाई प्रतिक्रिया जनाउँदै हिमानीप्रति पनि कटाक्ष गर्नुभयो ।

उहाँले लेख्नुभयो, ‘ अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना ।’

थापा यतिमै रोकिएको देखिएन । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत उहाँले पूर्व राजाप्रति आफ्नो मान्यता परिवर्तन भएको संकेत गर्दै गीतकार राजेन्द्र थापाको गीतको अंश पोष्ट गर्नुभयो । त्यो यस्तो थियो ।

‘पोहोर साल खुशी फाट्दा, जतन गरी मनले टालेँ

त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ

यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो ?’

सम्बन्धित खबरहरु