काठमाडौं । सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए ।

राष्ट्रपति जो बाइडनले अमेरिकाका दुई प्रमुख राजनीतिक दलका तर्फबाट डोलप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले डोल “प्रिय मित्र” र “आफूहरूको इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ” रहेको बताए ।

डोल लामो समयसम्म क्यानसस राज्यलाई प्रतिनिधित्व गर्ने सिनेटर थिए। राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । उनी दोस्रो विश्व युद्धमा सहभागी सैन्य अधिकारी समेत हुन् जो युद्धका क्रममा झन्डै मारिएका थिए ।

डोलको निधनको खबर उनकी पत्नीको प्रतिष्ठानले सार्वजनिक गरेको थियो जसमा उनले ”७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गरेको” उल्लेख छ ।

सन् १९९६ को राष्ट्रपतीय निर्वाचनका प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति बिल क्लिन्टनले डोलको उदाहरणले “आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ” भनेका छन् ।

अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले डोलले “अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गरेको” भनेका छन् ।

त्यस्तै बुसका डेमोक्र्याटिक उत्तराधिकारी बराक ओबामाले डोललाई “युद्ध नायक, राजनीतिक नेता र एक राजनेता” को सङ्ज्ञा दिएका छन् ।

सम्बन्धित खबरहरु