काठमाडौं । नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो ।

नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ११४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ५०३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३५७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४३ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ३८६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख छ हजार ६१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित खबरहरु