काठमाडौं । पश्चिमी वायुको प्रभावले हिउँदे वर्षाको क्रम बढ्ेसँगै हिमाली भेगमा हिमपात हुने भएको छ । विगत केही दिनयता अकस्मात् मौसममा बदली देखिने र हल्का वर्षा हुने क्रम बढेको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली आइतबारदेखि केही सक्रिय बनेकाले मुख्य गरी नेपालको पश्चिमी भेग छोएका हिमाली क्षेत्रमा हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विशेषगरी सोमबार र मङ्गलबार हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । हल्का वर्षाको क्रम बढेसँगै देशभर चिसो बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिउँदयाम सुरु भइसकेकाले चिसो लगातार बढ्ने क्रममा रहनेछ तर पश्चिमी वायु पूर्ण रूपले सक्रिय भने हुन सकेको छैन ।

यसका कारण हिउँदमा हुनुपर्ने औसत वर्षा प्रभावित बनेको छ ।” तथापि हिउँदको समय अझै बाँकी रहेकाले वर्षाको आशा कायमै रहेको उहाँले बताउनुभयो ।

यस वर्ष मनसुनलगत्तैको बेमौसमी वर्षाका कारण पनि जमिनमा आद्र्रता कायमै रहेकाले चिसो छिटो बढेको जलवायु विश्लेषण महाशाखाका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताउनुभयो । चिसो बढेसँगै तराई भेगमा हुस्सु, कुहिरो र शीतलहरको चाप पनि बढ्न थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान र राति तराई र पहाडी भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो बढ्न थालेको हो । आगामी केही दिन वर्षा र हिमपातका कारण हुस्सु र कुहिरोमा थप बढोत्तरी हुने सम्भावना छ ।

यसका कारण लामो दूरीका सवारी यातायातका साथै हवाई उडानसमेत प्रभावित हुनसक्ने भएकाले सतर्क रहन भनिएको छ । तथापि मङ्गलबार अपराह्नदेखि मौसममा सुधार हुँदै जाने सम्भावना रहेको जनाइएको छ ।

सम्बन्धित खबरहरु