काठमाडौं । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ३८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

दुई हजार ४२४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ३५२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ७५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित खबरहरु