काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको न्यायालय स्वच्छ र निश्पक्ष दुवै हुन नसकेको बताउनुभएको छ ।

नेपाल बारका पदाधिकारी तथा सदस्यहरुसँग मंगलबार आफ्नै निवास बालकोटमा छलफल गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

न्यायदिने सर्वोच्च थलो सर्वोच्च अदालत भएकाले निश्पक्ष र स्वच्छ हुनुपर्छ उहाँले भन्नुभयो । “स्वच्छ र निश्पक्ष न्यायालयले मात्र सही न्याय दिनसक्छ” उहाँले भन्नुभयो ।

तर न्यायलय स्वच्छ र निश्पक्ष हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । न्यायमूर्तिहरु निश्पक्ष भएमात्र न्यायालय स्वच्छ हुने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीको अवकास प्रस्थानविन्दु मात्र भएको अन्त्य नभएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “सरकार बनाउने काम संसदको हो, तर संसदले थाहा नपाएरै सरकार गठन भयो, कहाँ निश्पक्ष काम भयो ?”

नेपाल बारले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउने कुरा गरेपनि त्यो दर्ता कसरी हुन्छ ? जिज्ञासा गर्नुभयो । न्यायपालिकालाई कानुनअनुसार औंला ठड्याउन रोक लगाएको पनि उहाँले स्मरण गर्नुभयो ।

लोकतान्त्रिक मूल्य मान्यता, न्यायिक मूल्य मान्यताले देश चल्नुपर्ने चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो कि संशोधन गर्ने हो ?

संविधान संशोधन गर्न सर्वोच्चले पाउँदैन तर राजनीतिक विषयमा प्रवेश गरेको छ ।” प्रधान न्यायाधीश, न्यायाधीशहरु सबै सच्चिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रन्या राणालाई महाअभियोग लगाएर हटाउँदैमा समस्या दीर्घकालिन रुपले समाधान नहुने अध्यक्ष ओलीले बताउनुभयो ।

न्यायालय सच्याउने विषयमा एमालेको साथ सहयोग रहने तर न्यायालयको भूमिका न्यायालयजस्तो हुनुपर्छ उहाँले भन्नुभयो ।

जोसँग पैसा छ, पहुँच छ जसले न्याय किन्न सक्छ उसले मात्र न्याय पाउने विकृत अवस्था बन्न नहुने उहाँले सुझाव दिनुभयो ।

सम्बन्धित खबरहरु