काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक डाक्नु भएको छ ।

 

बैठक बुधबार बिहान देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ । महाधिवेशन सुरु हुन दुई दिन बाँकी हुँदा उम्मेदवारको टुंगो लाग्न नसकेको समयमा बैठक बोलाइएको हो ।

सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएपनि पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लागेको छैन । संस्थापन समूहमा दुई उपसभापतिका लागि विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम चर्चामा छ । दुई महामन्त्री पदमा आधा दर्जन आकांक्षी रहेका छन् ।

महामन्त्रीका लागि ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, एनपी साउद, विश्वप्रकाश शर्मा र रमेश लेखकले दावी गर्नुभएको छ । देउवालाई महामन्त्री चयन गर्न निकै कठिन हुने पक्का भएको छ ।

त्यस्तै समावेशी अन्तर्गत आठ सहमहामन्त्री पदका लागि पनि आकांक्षी धेरै हुँदा संस्थापन समूहमा उम्मेदवार तय गर्न सकस छ । सहमहामन्त्रीमा खस–आर्य, महिला, दलित, मधेशी र आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा आकांक्षीको संख्या धेरै छ ।

कोषाध्यक्ष भने केन्द्रीय कार्यसमितिबाट मनोनित गर्ने व्यवस्था कांग्रेस विधानमा छ । कांग्रेस महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौंमा हुँदैछ ।

सम्बन्धित खबरहरु