काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।

यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश गरिएको छैन । आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले स्पष्ट पारेको छ ।

यस्तै, नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको तयारी र उम्मेदवारको नाम टुङ्गो लगाउन बैठक बोलाउनुभएको छ ।

काँग्रस महामन्त्री पूर्णबहादुर खड्काले बुधबार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको तयारी र उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । उहाँले मंगलबारदेखि यी विषयमा छलफल गर्न बैठक बसिरहेको बताउनुभयो ।

काँग्रेस महाधिवेशन मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै मङ्सिर २७ गते सोमबार बिहानदेखि मतदान प्रक्रिया सुरु हुने काँग्रेस निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

सम्बन्धित खबरहरु