काठमाडौं । पाल्पा जिल्लाको दुई स्थानमा सवारीसाधनले च्यापेर दुई जना पुरुषको मृत्यु भएको छ । रामपुर–५, बेझाड बजारमा ट्याक्टरको ट्रलीले च्यापेर सर्लाही जिल्ला इसरपुर नगरपालिका–१५, का १९ वर्षका मुन्ना चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझ लु ३ त ८०५४ नम्बरको ट्याक्टरको हाइड्रोलिक बनाउने क्रममा एक्कासि ट्याक्टरको टाली खसेर चौधरीलाई च्यापेको थियो । टालीले च्यापेर गम्भीर घाइते भएका चौधरीको उपचार गर्न रामपुर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता निस्दी–७, ज्यामिरेमा ट्रिपरले च्यापिँदा एक जना पुरुषको मृत्यु भएको छ । मङ्गलबार बेलुकी ८ बजेतिर ज्यामिरेस्थित एक होटलमा खाना खान रोखेको ग २ ख ३६१ नम्बरको ट्रिपरले च्यापेर नवलपरासी जिल्ला सुनवल नगरपालिका–३, का ४५ वर्षीय तुफान कुँवर योगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

होटलमा खाना खान रोकेर स्टार्ट बन्द नगरी पछाडि जाने क्रममा ट्रिपर ब्याक भएर चालक योगी च्यापिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु