काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त हुनु भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आज बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो ।

क्यानले पुबुदुसहित ५ जना प्रशिक्षकको नाम आईसीसीमा सिफारिस गरेको थियो । आईसीसीको राय अनुसार क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षकलाई त्यही जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो ।

क्यानका पदाधिकारीले समेत अनौपचारिक रुपमा यसलाई पुष्टि गरेका थिए । तर आज क्यानको बोर्ड बैठकले पुबुदुको नामलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो ।

पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक रहनु भएको थियो । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी–२० विश्वकप खेलेको थियो ।

गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।

क्यानडाका पुबुदुसँगै भारतका मोन्टी देसाइ प्रशिक्षकको होडमा हुनुहुन्थ्यो । तर अन्तिममा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको हो । नेपालले २०२२ को फेब्रुअरीमा टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।

सम्बन्धित खबरहरु