काठमाडौं । संविधानसभामा रहेका साना दलहरुले संविधानसभा प्रक्रियामा अघि बढेपनि सहमतिलाई पनि संगै अघि बढाउन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको छलफलमा उनीहरुले प्रक्रियाका नाममा लामो समय लिनुभन्दा पनि प्रक्रियासँगै सहमतिलाई पनि अघि बढाउँदा राम्रो हुने सल्लाह दिएका हुन् ।
प्रधानमन्त्री कोइरालाले राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतसँग छलफल गरेका हुन् ।
छलफलपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरुले सहमतिका नाममा संविधान नै नबन्ने अवस्थाको सिर्जना हुनुभन्दा प्रक्रियाभित्रै सहमति खोज्न सल्लाह दिएको जानकारी दिए ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गत आइतबारको बैठकमा विपक्षीको अवरोधकाबीच प्रश्नावली समिति गठन गरेपछिको अवस्थाका बारेमा प्रधानमन्त्रीले साना दलहरुसँग छलफल गरेका हुन् ।