sushil koirala

काठमाडौं, १३ माघ ।
प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा बहुमतीय प्रक्रिया सुरु गरिएपछि आक्रोशित बनेका एमाओवादीसहित विपक्षी मोर्चाका नेताहरूसँग वार्ताको प्रयास थालेका छन् । विपक्षीले भने सत्तापक्षको आधिकारिक धारणा आएपछि मात्र वार्ता गर्न सकिने जवाफ दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले सोमबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन कुराकानीमार्फत वार्तामा बस्न आग्रह गरेका हुन् । कांग्रेस-एमालेसहित १२ दल र दुई स्वतन्त्र सभासदको आइतबारको बैठकले तत्काल वार्ताको अग्रसरता लिन प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो ।

कोइरालाले दाहालसँगको कुराकानीबारे कांग्रेस संसदीय दललाई पनि जानकारी गराएका छन् । ‘दाहालसित मेरो आज फोनमा कुराकानी भयो । मैले उहाँलाई वार्ताका लागि ढोका नै बन्द गरेको त होइन होला नि भनेर सोधें,’ बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यस्तो त होइन भनेर दाहालले जवाफ दिनुभएको छ ।’

स्रोतका अनुसार, दाहालले हालकै अवस्थामा वार्ता सम्भव नरहेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालालाई पछिल्लो घटनाक्रमबारे सत्तारूढ दलको स्पष्ट धारणा माग गरेका थिए । त्यसपश्चात् आफ्नो मोर्चाका नेताहरूसँग सल्लाह गरेर मात्र जवाफ दिने दाहालले आफूलाई बताएको कोइरालाले बैठकमा जानकारी दिए । कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाका अनुसार प्रधानमन्त्रीबाट एमाओवादीसहित मधेसकेन्दि्रत दलका नेताहरूसँग पनि विभिन्न तहमा अनौपचारिक छलफल थालिएको हो ।

‘तपाईंले गिरिजाप्रसादलाई सम्झेर अघि बढ्नुहोस्, विगतमा भएका सहमति र सम्झौतालाई बिर्सेर सहमतिमा पुग्न सकिँदैन,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । दाहालले सत्तारूढ दलको स्पष्ट धारणा माग गरेपछि सोमबार साँझ नै कांग्रेस र एमालेको बैठक बसेको थियो । बैठकले मंगलबार संविधान निर्माणलाई प्रक्रियामा लैजान सहमत सबै दलका तर्फबाट संयुक्त धारणा सार्वजनिक गर्ने तय गरेको छ । त्यसका लागि मंगलबार प्रक्रियामा सहमत १२ दल र दुई स्वतन्त्र सभासदको बैठक बस्ने तय भएको जानकारी एमाले उपाध्यक्ष विद्या भण्डारीले दिइन् । ‘सहमतिका लागि प्राथमिकता दिने र सँगसँगै प्रक्रिया पनि अघि बढाउने गरी संयुक्त धारणा आउन लागेको छ,’ भण्डारीले भनिन् ।

आइतबार संविधानसभाले प्रस्ताव समिति बनाउने घोषणा गर्दै संविधान निर्माणको बहुमतीय प्रक्रिया अघि बढाएपछि चिढिएका विपक्षीहरूलाई वार्तामा ल्याएर संविधानको अन्तरवस्तुमा सहमति खोज्ने प्रयास गर्नुपर्ने कांग्रेस संसदीय दलको बैठकमा नेताहरूले धारणा राखेका छन् ।

वरिष्ठ नेता शेरबहादुर देउवाले प्रश्नावली बनाउन संविधानसभाले घोषणा गरेको प्रस्ताव समितिलाई लिएर कुनै पनि पक्षले जित र हारका रूपमा लिन नहुने बताए । ‘संविधान निर्माणको प्रक्रिया अघि बढेको छ । तर, यो कसैको जित र हारको विषय होइन । त्यसरी व्याख्या पनि गरिन हुन्न । अब सहमतिको बाटो खोजेर हामी अघि बढ्नुपर्छ,’ देउवाले भने, ‘संघीयताका विषयमा धेरै किसिमका धारणा छन् । सबैले आफूले भनेजस्तो गर्छु भनेर सम्भव छैन । राष्ट्रिय एकतालाई ध्यान दिएर प्रदेश बनाउनुपर्छ ।’

उपसभापति पौडेलले सहमतिका लागि आएका विभिन्न विकल्प मान्न एमाओवादीसहितको विपक्षी मोर्चा सहमत नभएकै कारण प्रक्रियालाई अघि बढाउन बाध्य हुनुपरेको धारणा राखेका थिए । उनले सहमति र प्रक्रियालाई अब सँगसँगै अघि बढाइने बताए । त्यसअघि दलको बैठकमा नेताहरू अर्जुननरसिंह केसी, सुजाता कोइराला, वीरबहादुर बलायर, सुरेन्द्र पाण्डे, रामहरि खतिवडाले प्रक्रिया र सहमतिको प्रयास सँगसँगै अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

सभासदलाई जिल्ला जान निर्देशन

कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले सभासदहरूलाई दस दिनसम्म जिल्ला र क्षेत्रमा गएर कार्यक्रम गर्न निर्देशन दिएका छन् । संविधानसभाको बैठक दस दिनअघि नबस्ने भएपछि कोइरालाले प्रस्ताव समितिमा रहेका सदस्यबाहेकका सभासदहरूलाई संविधान निर्माणमा पार्टीले लिएको धारणा र माघ ८ मा संविधान जारी हुन नसक्नुका कारण जनतामाझ राख्न सभासदहरूलाई जिल्ला र निर्वाचन क्षेत्रमा गएर प्रस्ट राख्न निर्देशन दिएका हुन् । कान्तिपुरमा खबर छ ।

सम्बन्धित खबरहरु