काठमाडौं । भारत, राजस्थानको हनुमानगढ जिल्लामा प्रहरीको विशेष टोली गाउँबाट बेपत्ता भएका ७० गधाको खोजीमा जुटेको छ ।

जिल्लाको खुइँ प्रहरी चौकीका एक असईले उक्त टोलीको नेतृत्व गरिरहेका छन् । यो विशेष टोली नजिकैका गाउँमा गधाको खोजीमा लागेको छ ।

देवसर गाउँबाट हराएका गधाबारे सोधपुछ भइरहेको छ ।

योसँगै प्रहरीहरूले मानिसहरूलाई आफ्ना जनावरहरू विशेष गरी गधाको ख्याल गर्न सल्लाह दिइरहेको छ ।

रोचक कुरा के छ भने गाउँका गाईवस्तु पालकले प्रहरी चौकी बाहिर विरोध प्रदर्शन गर्दा प्रहरीले झण्डै १५–१७ गधा बरामद गरेको देखाएको थियो ।

हराएका गधाको खोजी गर्न माग गर्दै मंगलबार साँझ प्रदर्शनकारीले प्रहरी चौकी घेरेका हुन् । तर, प्रहरीले १५ दिनभित्र बेपत्ता गधा फेला पार्ने आश्वासन दिएपछि उनीहरुले धर्ना फिर्ता लिएका हुन् ।

देवासर गाउँका गाईवस्तु पालकले विगत ७–८ दिनदेखि गधा चोरी भइरहेको गुनासो गरेको इलाका प्रहरी चौकी इन्चार्ज विजेन्द्र शर्माले जानकारी दिनुभयो । कृषकको गुनासोमा १५–१७ गधा बरामद गरिएको उनले बताए ।

उनले भने, ‘उजुरीकर्ताहरूलाई उनीहरूको गधा पहिचान गर्न भनियो । उनीहरूले गधाहरूलाई पिंकु, मोहर र बब्लु जस्ता नामले बोलाए तर गधाहरूले जवाफ नदिएपछि उनीहरूले गधा लिन मानेनन् ।’

शर्माले थप्दै भने, ‘एएसआईको नेतृत्वमा टोली बनाएर ती गधाहरूको खोजी गरिरहेका छौँ । टोलीमा पाँच प्रहरी जवान पनि छन् ।’

आजका चर्चित पोष्टहरु पढ्न छुटाउनुभयो की ?

सम्बन्धित खबरहरु