Prachanda_and_Baidha_256090379

काठमाडौं, १४ माघ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा घोषण गरिएको संयुक्त आन्दोलनको मोर्चाबाट मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी बाहिरिएको छ। संविधानसभा विघटन गर्ने मुद्दामा प्रचण्ड नेतृत्वको मोर्चा सहमत नभएपछि वैद्य पक्ष बाहिरिएको हो। संविधानसभामा संविधान लेखनका लागि अघि बढाइएको प्रक्रियाविरूद्ध प्रचण्डले वैद्यसमेतलाई साथमा लिएर माघ ६ गते संयुक्त आन्दोलन गरेका थिए।

 

एमाओवादीको बिहीबार बस्ने केन्द्रीय समितिको बैठकलाई संघर्ष केन्द्रित गराउने योजना

राष्ट्रिय सहमतिमा संविधान निर्माण गर्न दबाब दिन एमाओवादी नेतृत्वको गठबन्धनमा सहभागी माओवादी मुख्य नारामै सहमत हुन नसकेपछि संयुक्त आन्दोलनबाट बाहिरिएको हो।

एमाओवादी, मधेस केन्द्रित दल र संघीय समाजवादवादी पार्टीसहित संविधानसभाभित्रका दलहरू तत्काल संविधानसभा विघटनलाई साझा नारा बनाउन सहमत नभएपछि वैद्य संयुक्त आन्दोलनमा सहभागी नहुने भएका हुन्।

संयुक्त आन्दोलनको न्यूनतम साझा अवधारणा बनाउने, आन्दोलन परिचालन कार्यदल बनाउने, कार्यदलको नेतृत्व आलोपालोमा गर्ने समझदारी हुन नपाउँदै वैद्य संयुक्त आन्दोलनबाट बाहिरिएका छन्। एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन, पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन र वैद्य नेतृत्व माओवादीले माघ ६ गते संयुक्त रूपमा नेपाल बन्द गराएका थिए।

‘मूल नारा नमिलेपछि त्यो कार्यक्रममा पनि समस्या भयो’, नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले अन्नपूर्णसँग भने, ‘हामी हाम्रै तरिकाले संघर्ष गर्छौं। उहाँहरू उहाँहरूकै तरिकाले संघर्ष गर्नुहुन्छ। एउटै मञ्च र कार्यक्रमचाहिँ नहुने भयो।’ वैद्यले संविधानसभा खारेज गरी सर्वपक्षीय राजनीतिक सभा गठन गरी समस्या समाधान गर्नुपर्ने माग गरेका छन् भने दाहालले पहिचान झल्किने संघीयता र उत्पीडित समुदायका अधिकार सम्बोधन हुने गरी संविधानसभाबाटै संविधान जारी गरिनुपर्ने माग गरेका छन्। ‘मुख्य नारामै तालमेल भएन। उहाँहरू संविधानसभा छोडेर आउनुभयो भने सहकार्य हुन्छ’, गजुरेलले भने। गजुरेलका अनुसार दाहाल नेतृत्वको गठबन्धन र वैद्य नेतृत्वमा हुने आन्दोलनकारीबीच समन्वय हुनेछ।

‘आन्दोलनमा एकले अर्कोलाई सहयोग गर्ने हुन्छ’, गजुरेलले भने। वैद्य र उनीबाट विभाजित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले पनि एमाओवादीलाई संविधानसभा छाडेर सडक संघर्षमा आएमा सहकार्य गर्न सकिने जनाएको छ।

एमाओवादीलाई संविधानसभा नछोड्न अन्तर्राष्ट्रिय समुदायको पनि दबाब तीव्र छ। ‘सत्ता पक्षले पेल्दै लगेको अवस्थामा संविधानसभा विघटनलाई नै साझा नारा बनाउन सकिन्छ तर अहिले नै संविधानसभा विघटनको नारा लगाउन सकिँदैन’, दाहालका स्वकीय सचिवसमेत रहेका एमाओवादी केन्द्रीय सदस्य चूडामणि खड्काले भने।

दाहाल र वैद्य दुवै पार्टीका आन्तरिक बैठकबाट आ-आफ्ना संघर्षका कार्यक्रम प्रभावकारी बनाउने योजनामा जुटेका छन्। वैद्य पोलिटब्युरो बैठकमा व्यस्त छन् भने दाहालले बिहीबार केन्द्रीय समिति बैठक बोलाएका छन्। ‘हामी यही बैठकबाट संघर्षका कार्यक्रम बनाउँछौं, गजुरेलले भने।

अध्यक्ष दाहालले बिहीबार बस्ने केन्द्रीय समितिको बैठकलाई संघर्ष केन्द्रित गराउने योजना बनाएका छन्। ‘यो बैठकमा अन्य विषयभन्दा पनि संघर्ष कसरी प्रभावकारी बनाउने भन्नेमै केन्द्रित हुन्छ’, खड्काले भने। दाहाल नेतृत्वको ३० दलीय गठबन्धनले माघ २० गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ। अन्नपूर्णपोष्टमा खबर छ ।

- See more at: http://dainikpost.com/2015/01/28/108817#sthash.OXPPn7Zz.dpuf

सम्बन्धित खबरहरु