काठमाडौ । इजरायल सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ ।

आज बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गर्नुभएको हो ।

ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ ।

‘हाईटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सीप आदानप्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताउनुभयो ।

यो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरूको जीवन पद्धतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधिमा भएका परिवर्तनको अध्ययन आवश्यक रहेको बताउनुभयो ।

इजरायलले नेपालमा प्रविधिसहितको ल्याबका लागि सहकार्य गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

यो ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ । अहिले ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।

आजका चर्चित पोष्टहरु लिंकमा क्लिक गरेर पढ्नुहोस् ।

सम्बन्धित खबरहरु