काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच करिब एक घण्टा छलफल भएको छ ।

शनिबार बिहान भक्तपुर बालकोटस्थित ओली निवासमा प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पनि दुवैबीच के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आइनसकेको जानकारी दिनुभयो ।

एक्लाएक्लै वार्ता भएकाले के कुराकानी भयो भन्ने विषयमा जानकारी नभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव देउवाले जानकारी दिनुभयो ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्री र अध्यक्षबीच करिब एक घण्टा एक्लाएक्लै भेटवार्ता भएकाे तर विषयबारे थाहा नभएकाे बताउनुभयाे ।

एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पुग्नुभएको थियो ।

संसद्को अवरोध हटाउनेबारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बाेलाउँदासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुग्नुभएको हो ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

सम्बन्धित खबरहरु