काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।

बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपियाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाएको छ ।

कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको छ, त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताउनुभयो ।

बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मूल्य घोषणा गरिने बताउनुभयो । कति रुपियाँ मूल्य निर्धारण गरेको छ, त्यो उहाँले बताउन चाहनुभएन ।

मन्त्रालय स्रोतका अनुसार हालको उपभोक्ता मूल्य ७६ रुपियाँ प्रति लिटरममा १० रुपियाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपियाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपियाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नुपर्ने देखिएको अध्ययन समितिले सिफारिस गरेको कृषि मन्त्रालयले जनाएको छ ।

किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपियाँ देखाएको छ । त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपियाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस गरिएको छ । त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपियाँ कायम गरिएको छ ।

किसानबाट खरिद गरिएको कच्चा दूध प्रतिलिटर ५३.५० रुपियाँ र प्रशोधित लागत प्रतिलिटर ३०.५० रुपियाँ गरी प्रतिलिटर ८४ रुपियाँ हुनजान्छ । त्यसमा उद्योगीले २ रुपियाँ मुनाफा लिएर उपभोक्त मूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु