आईएलएफसी सहितका तीन वटा कम्पनीसँग मर्जको कुरा भाँडिएपछि बैंक अफ काठमाडौ साधारणसभा गर्न तिर लागेको छ । बीओकेले लगानीकर्तालाई १०.४१ प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित आगामी फागुन ८ मा साधारणसभा बोलाएको छ ।

बैंकको बिसौ साधारणसभामा बैंकको अधिकृत पूँजी ३ अर्ब बनाउनुका साथै उपयुक्त संस्था खोजेर किन्ने अर्थात एक्विजिशन गर्न प्रस्ताव लैजाने भएको छ ।

आईएलएफसी,  श्री ईन्भेष्टमेन्ट र नेपाल एक्सप्रेस फाईनान्स कम्पनीसँग मर्जको प्रयास गर्दा ६ महिना भन्दा बढी समयसम्म बैंकको शेयर कारोबार रोक्का हुँदा लगानीकर्तालाई धेरै घाटा भएकोमा बीओकेले मर्ज छाडी संस्था नै किन्ने एक्विजिशनको बाटोमा जाने सोच बनाएको हो । यसो गर्दा बैंक अफ काठमाडौको शेयर कारोबार रोक्का हुने छैन् ।

अर्कोतर्फ एक्विजिशन गर्दा मर्ज प्रक्रियामा जस्तो गाभिन आउने कम्पनीको शेयर स्वाप रेसियो, संचालकहरुको भागबण्डा, कर्मचारी ब्यवस्थापन लगायतका झंझटबाट पनि मुक्ति मिल्ने छ । आईएलएफसीलगायतका तीन कम्पनीसँग यिनै विषयमा कुरा नमिल्दा मर्ज भाँडिएको थियो ।

साधारणसभाका लागि बैंकको शेयरधनी दर्ता किताब माघ २१ देखि माघ ८ गतेसम्म बन्द हुने जनाईएको छ । हाल नेपाल स्टक एक्सचेन्जमा बन्द रहेको शेयर कारोबार खुलाईने बारेमा भने बैंकले केही बताएको छैन ।

बैंक अफ काठमाडौको हाल चुक्ता पूँजी २ अर्ब १२ करोड छ । बीओकेले मेलम्ची खानेपानी ग्यारेन्टी, एभरेष्ट भिनाईल ऋण प्रकरण जस्ता प्रकरणमा जोखिम ब्यवस्थापन गरेको छ ।

अधिकृत पूँजी नै तीन अर्ब मात्र बनाउने सोच सार्वजनिक भएकाले बीओके तत्काल पाँच अर्बको ठूलो बैंक बन्ने दौडमा भने नजाने भएको छ । बीओकेले संस्थाहरु किन्ने सोच सार्वजनिक गरेकाले उसँग बेचिन बिकास बैंक र फाईनान्स कम्पनीहरुले प्रस्ताव पठाउन सजिलो भएको छ । राम्रो संभावना भएको बाणिज्य बैंक भएकाले धेरै साना संस्थाहरुले बीओकेमा बिलय हुन ईच्छा जाहेर गर्ने संभावना छ ।

सम्बन्धित खबरहरु