काठमाडौं । नेपालमा आज तीन हजार भन्दा धेरै कोरोना संक्रमित थपिएसँगै यसको खत्तरालाई लिएर मान्छेहरु डराउन थालेका छन् ।

तीव्र गतिमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बुधवार (आज) देखि विभिन्न प्रतिबन्धात्मक नियमहरू लागू गरेका छन् ।

सङ्क्रामक रोग र जनस्वास्थ्यविद्हरूले चाहिँ यस्ता प्रतिबन्धात्मक व्यवस्थाहरूका साथै खोपको विस्तारमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लाहरू (काठमाडौं , भक्तपुर र ललितपुर) मा मात्रै आज १५०० भन्दा धेरै संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको मङ्गलवार बसेको बैठकले विभिन्न प्रतिबन्धात्मक व्यवस्था गर्ने निर्णय गरेको थियो ।

आजदेखि लागू भएका प्रतिबन्धहरूमा मास्कको प्रयोग नगरी कुनै पनि भेला हुने खालका कार्यक्रमहरू नगर्ने पनि उल्लेख छ । सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने प्रशासनिक एवम् सामाजिक कार्यमा पनि बन्देज लगाइएको छ । तर अत्यावश्यक कार्यक्रमका हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्न सकिन्छ ।

२५ जनाभन्दा बढी उपस्थित हुने कुनै पनि किसिमका मेला, भेला तथा महोत्सव गर्न नपाइने भएको छ । सार्वजनिक स्थानहरू जस्तै, कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदीमा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड–१९ विरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने भएको हो ।

त्यस्तो कार्डको मोबाइलमा तस्बिर देखाउँदा पनि हुने कुरा आदेशमा उल्लेख छ । तीन जिल्लाका सार्वजनिक सेवा लिँदा पनि माघ ७ गतेदेखि खोप कार्ड देखाउनुपर्ने हुन्छ । सार्वजनिक स्थानमा निःशुल्क एन्टिजन परीक्षण बुथहरू राखिने भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयहरूले १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई एक साताभित्र कोभिडविरुद्ध अनिवार्य खोप लगाइसक्ने गरी तालिका बनाएर कार्यान्वयन गराउनेछ । पुस २७ देखि माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने निर्णय भएको छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा पनि भिडभाड कम हुने गरी व्यवस्था मिलाइने छ । कोभिडको दोस्रो लहरका बेला प्रयोगमा आएका अक्सिजन सिलिन्डरहरू सम्बन्धित उद्योग, अस्पताल र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्नेछ ।

सार्वजनिक यातायातले स्वीकृत सिट सङ्ख्याभन्दा बढी यात्रुहरू राख्न नपाउनुका साथै स्वास्थ्य मापदण्ड पालन गर्नुपर्नेछ । त्यस्तै, औषधिमा कृत्रिम अभाव र मूल्यवृद्धि गरिए कानुन अनुसार कारबाही हुन्छ ।

उद्योग, व्यवसाय र पसल सञ्चालन गर्दा पनि स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने भएको छ । जारी मापदण्ड पालन भए नभएकोबारे आकस्मिक अनुगमन हुने र अवज्ञा भएको पाइए कारबाही गरिनेछ ।

 

सम्बन्धित खबरहरु