काठमाडौ । नेपाल अहिले कोरोनाभाइरसको तेस्रो लहरको सम्मुखमा छ। केही दिनयता कोरोनाका संक्रमित ह्वात्तै बढेका छन्।

ओमिक्रोन भेरियन्टको त्रासबीच संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको छ।

बिहीबारमात्र नेपालमा २४ घण्टाभित्र ३०७५ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितको संख्या आउने दिनमा थपिने निश्चित छ। जर्जर स्वास्थ्य प्रणाली भएको नेपालमा एकैदिन फेरि हजारौं मानिस संक्रमित भए भने धान्न नसकिएला कि भन्ने डर छ।

डढेलोसरी फैलिने ओमिक्रोन भेरियन्टको संक्रमणले आगामी दिनमा के होला भन्ने अनिश्चितता भइरहेका बेला अमेरिकामा गरिएको एक अध्ययनबाट भने राहत दिने खालको निष्कर्ष निस्किएको छ।

द न्युयोर्क टाइम्सका अनुसार दक्षिण क्यालिफोर्नियामा झन्डै ७० हजार कोरोना संक्रमितमा गरिएको अध्ययनले ओमिक्रोन भेरियन्ट कोरोनाका अरू भेरियन्टभन्दा कम खतरनाक भएको देखाएको छ।

अमेरिकामा ठूलो स्वास्थ्य प्रणाली चलाउने काइसर पर्मानेन्टेले नोभेम्बर ३० देखि जनवरी १ सम्म ६९ हजार २ सय ७९ जना कोरोना संकमितको विवरण संकलन गरेको थियो। उनीहरू सबैलाई कोरोनाका लक्षणहरू देखिएका थिए। अरू नै कारणले अस्पतालमा पुगेका तर जचाउँदा कोरोना पोजेटिभ देखिएकाहरूलाई यो अध्ययनमा समावेश गरिएको थिएन।

उनीहरूमध्ये ५२ हजार जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका इपिडिमियोलोजिस्ट तथा उक्त अध्ययन रिपोर्टका लेखक डाक्टर जोसेफ लेनवार्डका अनुसार ती ५२ हजारमध्ये एक जना पनि यो अवधिमा भेन्टिलेटरमा गएनन्।

डेल्टाको तुलनामा ओमिक्रोन भएका आधा मानिसमात्रै अस्पताल गए। अस्पताल गएकाहरू पनि डेल्टा संक्रमितभन्दा निकै कम समयमै घर फर्किए। उक्त अध्ययनका अनुसार ओमिक्रोन संक्रमितहरू औसतमा तीन दिन अस्पताल बसे जबकी डेल्टाका संक्रमित औसतमा १० दिन अस्पतालमा बस्थे।

मृत्यु हुनेको संख्या पनि डेल्टाका संक्रमितभन्दा निकै कम देखियो। डेल्टा संक्रमण हुँदाभन्दा ओमिक्रोन संक्रमण हुँदा मृत्यु हुने सम्भावना ९१ प्रतिशत कम देखियो।

यसअघि दक्षिण अफ्रिका, बेलायत र स्कटल्यान्डमा गरिएका अध्ययनहरूले पनि ओमिक्रोन भेरियन्ट कम खतरनाक भएको देखाएका थिए।

ओमिक्रोनले संक्रमितलाई धेरै असर नगर्नुका पछाडि खोपको प्रतिरोधात्मक क्षमताले पनि काम गरेको हुन सक्ने वैज्ञानिकहरूको बुझाइ छ। डाक्टर लेनवार्ड र उनका साथीहरूले गरेको अध्ययनले पनि खोप नलगाएका मानिसभन्दा खोप लगाएकाहरूको अस्पताल जानै पर्ने अवस्था आउने सम्भावना ६४ देखि ७३ प्रतिशतसम्म कम हुन्छ।

अर्को कारण ओमिक्रोनले श्वासप्रश्वासको माथिल्लो प्रणालीमा असर गर्ने भएकाले पनि यसले संक्रमितलाई बढी सिकिस्त पार्दैन।

डाक्टर लेनवार्डको टिमले गरेको अनुसन्धानको पिअर रिभ्यू हुन बाँकी छ। संसारभरि अहिलेसम्म भएका अध्ययनहरू ओमिक्रोन भेरियन्टले डेल्टाले जति सिकिस्त नपार्ने बताएका छन्। ओमिक्रोनको फैलिने गति भने निकै तीव्र छ।

अमेरिकामा अहिले दैनिक साढे सात लाख मानिस कोरोनाको संक्रमणमा पर्ने गरेका छन्। छिमेकी भारतमा पनि पछिल्लो समय संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

पछिल्लो २४ घन्टामा भारतभरि एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको बिबिसी हिन्दीले जनाएको छ। योसँगै भारतमा ९ लाख ५५ हजार बढी सक्रिय संक्रमित पुगेका छन्। भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। डिसेम्बर अन्तिमसम्म भारतमा दैनिक संक्रमितको संख्या १० हजारभन्दा कम थियो।

 

सम्बन्धित खबरहरु