बीबीसी । उन्नाइस वर्षकी हुँदा एलिएना डेभेजाले आफ्नी आमालाई बचाउन ऐतिहासिक शल्यक्रिया गर्ने व्यवस्था गरिन्। उनले अमेरिकामा पहिलो पटक अङ्ग साटासाट गरेर उपचार गर्न एक अस्पताललाई तयार गरिन्।

"होसमा आएपछि मैले सोधेको पहिलो कुरा मेरी आमालाई कस्तो छ भन्ने थियो। के उनलाई ठिक छ?" "म आफ्नो बारेमा चिन्तित थिइनँ। म आफ्नो दुखाइ सहन तयार थिएँ। सबै जना ठिक छन् भन्ने सुनेपछि म ढुक्क भएँ।"

एलिएनाले सबै जना भन्दा आफू र आफ्नो आमा मात्रै होइन, शल्यक्रिया गरेका दुई दिदीबहिनीको पनि कुरा गरिरहेकी थिइन। एलिएनाको एउटा अङ्ग दिदीबहिनीमध्ये एक जनालाई दान गरिएको थियो भने अर्की अर्की एक जनाको मिर्गौला एलिएनाको आमालाई दिइएको थियो। दुई जनाले आफ्ना नातेदारलाई बचाउन नचिनेको व्यक्तिलाई आफ्नो अङ्ग दान गरिरहेका थिए।

यी शल्यक्रिया गर्न दुई वर्ष मेहेनत गरिएको थियो।
एलिएनाले आफ्नो आमा इरोसालीनलाई वर्षौँसम्मको डायलिसीस, बिमार र सम्भावित असामयिक निधनबाट मात्र जोगाइनन् बरु एक अपरिचितलाई पनि नयाँ जीवन दिइन्।

मानव शरीरमा दुई वटा मिर्गौला हुने र एउटा मात्रै भए पनि पुग्ने भएकाले एउटा दान गर्न सकिन्छ। तर पनि कतिपय अवस्थामा दिने मानिस तयार हुँदा पनि लिनेले दान लिन सक्दैनन्।

विश्वभर सन् २०१९ मा १५०,००० अङ्ग प्रत्यारोपण गरियो जुन नयाँ अङ्ग चाहिने बिरामीको सानो सङ्ख्या मात्रै हो। एल्भिन रोथले धेरै मानिसले मिर्गौला दान गर्ने र प्राप्त गर्ने प्रणाली निर्माण गरेपछि सन् २०१२ मा नोबेल पुरस्कार पाए।

"मिर्गौला अन्य व्यक्तिलाई दान दिएर जीवन बचाउन सकिन्छ," रोथ भन्छन्। "तर कहिलेकाहीँ दान गर्ने मानिस स्वस्थ्य हुँदा पनि उनको मिर्गौला अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्दैन। चाहेर पनि आफ्नो मानिसलाई मिर्गौला दिएर बचाउन सकिन्न।"

"तर यस्तो हुन सक्छ कि मेरो मिर्गौला तपाईँको बिरामीलाई मिल्छ र तपाईँको मिर्गौला मेरो बिरामीलाई। यो मिर्गौला साटासाट गर्ने सहज तरिका हो जहाँ दुई जोडीले एकअर्काको अङ्ग प्राप्त गर्न सक्छन्।" रोथ र उनका सहकर्मीको कामले मिर्गौला प्रत्यारोपण बढेको छ जसले गर्दा प्रत्येक वर्ष हजारौँ जीवन बचिरहेको छ।

तर यस्तो अङ्ग साटासाट सबै स्थानमा वैध छैन। उदाहरणका लागि जर्मनीमा तपाईँले आफ्नै परिवारको मानिसलाई मात्रै अङ्ग दान गर्न सक्नुहुन्छ। यसको कारण गरिबहरूलाई पैसाका लागि अङ्ग दान गर्न बाध्य पारिन सक्छ भन्ने सोच हो।

कहिलेकाहीँ दुई जोडी मात्रै होइन, धेरै मानिसहरू अङ्ग साटासाट गर्न एकै स्थानमा आइपुग्न सक्छन्। एउटा घटनामा ७० जना मानिसहरू मिलेर ३५ जनालाई मिर्गौला दान गरेका छन्।

एलिएनाले भने आफ्नी आमालाई मिर्गौला दान गर्न सक्दिनथिन् किनभने चिकित्सकहरूले मिर्गौलाको समस्या आनुवंशिक हुन सक्ने बताएका थिए। त्यसैले एलिएनालाई पनि मिर्गौलाको रोग लाग्ने सम्भावना थियो।

उनी आमालाई नयाँ मिर्गौला दिन चाहन्थिन् तर समय कम थियो। त्यसैले उनले खोज्दै गर्दा मिर्गौलासँग कलेजोको अंश साट्न सकिने सम्भावना देखिन्। "मैले दान गर्न सक्ने अङ्गहरूबारे अध्ययन गर्दा कलेजो पनि देखियो।" एलिएनालाई यो सैद्धान्तिक सम्भावना भएको र नियमित हुने शल्यक्रिया नभएको थाहा थिएन।

उनले अस्पतालहरूलाई फोन गरेर आमाको मिर्गौलाका लागि आफ्नो कलेजो दान गर्न सकिन्छ कि भनेर सोध्न थालिन्।

केही अस्पतालले आफ्नो कुरै नबुझेको एलिएना बताउँछिन्: "केही अस्पतालले मलाई मुर्दाघरको नम्बर दिए किनभने उनीहरूले मैले भन्न चाहेको कुरै बुझेनन्I"

अन्ततः उनले सही मानिस फेला पारिन्। जोन रोबर्टस् सान फ्रान्सिस्कोमा रहेको क्यालिफोर्निया विश्वविद्यालयमा शल्य चिकित्सक हुन्। "उनले मेरो कुरालाई बेवास्ता गरेनन्। म त १९ वर्षकी थिएँ र सायद मेरो कुरो वाहियात थियो। मलाई खतरा हुनसक्ने ठानेर मेरै परिवार मेरो विरोधमा थियो।"

अस्पतालको सहायताले उनीहरूले दिदीबहिनी फेला पारे जो एलिएना र उनकी आमासँग अङ्ग साट्न तयार थिए। दिदीबहिनीमध्ये एकले एलिएनाको कलेजोको एक टुक्रा प्राप्त गरिन् भने एलिएनाको आमाले नयाँ मिर्गौला प्राप्त गरिन्।

एलिएनालाई कुनै पछुतो छैन तर किन अरू मानिसहरू अङ्ग दान गर्न डराउँछन्? "मलाई लाग्छ अङ्ग दानबाट भाग्नुको कारण डर नै हो।" "अङ्ग दान ठूलो शल्यक्रिया हो त्यसले जोखिम त थुप्रै छ तर यो क्रममा तपाईँलाई सहयोग गर्ने टोलीसँग प्रक्रियाका बारेमा बुझ्दा सहज हुन्छ।"

सम्बन्धित खबरहरु