चितवन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाका मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापाको मृत्यु भएको हो ।

पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मृतक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सुत्केरी गराउने क्रममा लापरबाही गरेकाले मृत्यु भएको बताउनुभयो ।

पुस २६ गते दिउँसो १ बजेतिर सुत्केरी व्यथाले च्यापेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सुत्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेका थिए ।

‘उहाँहरूले दिउँसो १२ बजेसम्म हुन्छ भनेर राख्नुभयो, हामीलाई भित्र जान पनि दिनु भएन, बहिनी असाध्य पीडा भएर भुईँमा लडिछन्, नजिकको अर्को बिरामीकाअनुसार त्यहाँ कोही नर्स, डाक्टर थिएनन् रे, मुखबाट रगत आएर बेहोस भएर ढलिछन्’ मृतकका दाजु ताराले भन्नुभयो, ‘हामी भित्र जाँदा त बहिनी अचेत थिइन्, नर्स आएर सीपीआर गरिरहेका थिए, डाक्टर थिएनन् । हतार हतार आईसीयू लगेर भेन्टिलेटरमा राखियो ।’

भेन्टिलेटरमा राखेको केही समयपछि डाक्टरले राधिकालाई मृत घोषणा गरेका थिए । उहाँको पेटमा साढे तीन किलोको छोरा रहेको मृतकका दाजु ताराले बताउनुभयो ।

पुस २४ गते सुत्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्रसूति रोग डाक्टर लोकबहादुर सेढाइले दिनुभएको थियो । ‘२२ गते यहाँ राप्ती खुरखुरेमा भिडियो एक्सरे गरेर हेर्दा सबै कुरा नर्मल छ, एक–दुई दिनमा अस्पताल जानु भए हुन्छ भनेर डाक्टरले भन्नुभएको थियो,’ ताराले भन्नुभयो ।

राधिकाका श्रीमान् सुधिर थापा जापानमा हुनुहुन्छ । उहाँ विगत ८ वर्षदेखि जापानमा बस्दै आउनुभएको छ । राधिका भने दशैं अगाडि मात्रै नेपाल आउनुभएको थियो । उहाँकी ६ कक्षामा अध्ययनरत छोरीसमेत हुनुहुन्छ । राधिकाले अघिल्लो पटक छोरी साधारण तरिकाले नै जन्माउनुभएको थियो ।

राधिकाको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । शव परीक्षण गर्न परिवारले मानेका छैनन् ।

बुधबार अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीसहित भएको छलफलमा अस्पतालले गल्ती र कमजोरी भएको स्वीकार गरेको मृतकका दाजु ताराले बताउनुभयो । ‘हामीले क्षतिपूर्ती रकम मागेनौं ।

हामीलाई पैसाभन्दा पनि अस्पतालले गल्ती स्वीकार गर्नुपर्छ भन्ने छ, अस्पतालले गल्ती स्वीकार पनि गरेको छ’ ताराले भन्नुभयो, ‘बहिनी नै मरेर गएपछि तिनीहरूले दिएको पैसाले के नै हुन्छ र ? पैसा त हामीसँग पनि छ तर बहिनीको ज्यान छैन के गर्ने ?’ उहाँले भरतपुर अस्पतालको प्रसूति विभागमा चरम लापरबाही हुने गरेको बताउनुभयो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले सुत्केरी गराउन आएकी राधिकाको मुटुको नशामा एक्कासी रगतको प्रेसर परेर मृत्यु भएको दाबी गर्नुभयो । डा. पौडेलले राधिकाको उपचारमा अस्पतालको तर्फबाट लापरबाही नगरेको जिकिर गर्नुभएको छ ।

 

सम्बन्धित खबरहरु