काठमाडौं । काठमाडौंवासीका लागि हिउँ अझै पनि ‘रोमाञ्च’ कै विषय हो । हिउँ हेर्नकै लागि काठमाडौंका युवायुवतीहरु चन्द्रागिरीदेखि दामनसम्म पुग्ने गर्छन् ।

तर, आज बिहान काठमाडौंको कुलेश्वरका वासिन्दाले आश्चर्यजनक दृष्य देखे । बिहान उठ्दा सडकदेखि खुला मैदान सबै बाक्लो हिउँ जस्तो वस्तुले छपक्कै छोपिएका थिए ।

काठमाडौंमा अन्यत्र कतै पनि नदेखिएको हिउँ कुलेश्वरमा कसरी पर्यो ? स्थानीयवासी अचम्ममा परेका थिए ।

कुलेश्वरमा करिब २० बर्षदेखि बसोवास गर्दै आएका सिभेक अग्रवालले यस ठाउँमा पहिलोपटक हिउँ देखेको बताउनुभयो ।

‘आजको दिनसम्म यहाँ कहिले पनि हिउँ देखिएको थिएन । अरु ठाउँमा हिउँ पर्दा पनि यहाँ पर्दैनथ्यो ।’ तर आज अचम्म भयो ।

केही दिनअघि चन्द्रागिरीमा हिउँ पर्दा राष्ट्रिय समाचार नै बनेको थियो । काठमाडौंबाट हिउँ हेर्न र खेल्नका लागि धेरै युवायुवती चन्द्रागिरीमा भिड लागेका थिए । त्यसबेला कुलेश्वरमा हिउँ देखिएको थिएन ।

तर, आज अचानक हिउँ परेको भन्दै बच्चादेखि किशोरकिशोरीहरु रमाएका थिए । यस विषयमा हामीले कालिमाटी प्रहरीसँग कुरा गर्दा पनि हिँउ नै परेको भनाइ आयो । प्रहरी स्रोतको दावी अनुसार कालिमाटी कुलेश्वर र टेकु क्षेत्रमा मध्यरातमा हिउँ परेको थियो ।

मौसमविदले भने सो क्षेत्रमा हिँउ परेको नभइ असिना परेको दावी गरेका छन् । मौसमविद वरुण पौडेलले आफूले पनि हिउँ भनिएको तस्वीर हेरेको तर, त्यो हिँउ नभइ असिना भएको बताउनुभयो ।

‘भारी मात्रामा असिना परेर थुप्रिएपछि हिउँजस्तै देखिन्छ,’ उहाँले भन्नुभयो, ‘स्थानीयवासी झुक्किएका हुन्, त्यो हिउँ होइन । हिँउ परेको भए कुलेश्वर–कालिमाटीमा मात्रै पर्ने थिएन ।’

काठमाडौका अधिकांश स्थानमा पर्ने थियो । तर स्थानीयहरुकोपनि दावी छ असिना पर्दा आवाज आउनुपर्ने हो । त्यो बेला कुनै आवाज आएको थिएन । असिना जस्तो डल्लो र गोलोपनि छैन । साना फुस्फूस्स खालको छ ।

सम्बन्धित खबरहरु