काठमाडौ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसपनि भारतसँग जुध्न थालेको छ ।

भारतसँग लम्पसार परेको आरोप खेपिरहेको भारतले पहिलोपटक औपचारिक रुपमा लिपुलेक, कालापानी र लिम्पियाधुरा सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको छ ।

महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा आएपछि विज्ञप्ति निकालेर नै कांग्रेसले नेपाली भूमिमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएको छ ।

लिपुलेकमा सडक निर्माण रोक्न माग गरेको उसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ, ‘यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’

संविधान संशोधनमार्फत संसदले अनुमोदन गरेको नयाँ नक्साको कार्यान्वयन हुनुपर्छ भन्ने राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत भएको कांग्रेसले बताएको छ ।

कांग्रेसका महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ, ‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक सम्वादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’

सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्दछ भन्नेमा कांग्रेस प्रष्ट रहेको समेत वक्तव्यमा उल्लेख छ ।

सम्बन्धित खबरहरु