काठमाडौ । यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा प्रिन्ट भएको स्मार्ट लाइसेन्स दिने व्यवस्था गरेको छ ।

यसका लागि ७ दिन अगावै आवेदन दिन अनुरोध गरेको छ ।

विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरु र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिनेहरुले आवेदन दिएको ७ दिनमा स्मार्ट लाइसेन्स पाउने विभागले जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्र चाँडो प्रिन्ट गरी प्राप्त गर्नका लागि दिएको निवेदन मितिबाट ७ (सात) दिन पछि प्रिन्ट प्राप्त गर्न सकिने भएकोले सोही व्यहोरा अवगत गर्नु भई निवेदन दिनु हुन सम्पूर्ण सेवाग्राहीहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागले आफ्नो सूचनामा भनेको छ ।

अति जरुरी अवस्थामा सेवाग्राहीलाई आजको भोलि नै लाइसेन्स चाहिने हुन्छ । तर, विभागमा अत्यावश्यकको नाममा विगतदेखि नै आर्थिक चलखेल गरेर लाइसेन्स छिटो छपाएर दिलाउने गरिएकाले यस्तो सूचनालाई सेवाग्राहीले शंकास्पद रुपमा हेरेका छन् ।

गत पुस १३ गतेदेखि सरकारले रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको थियो ।

लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण २०७७ फागुनदेखि रोकेको थियो ।

अब माघ मसान्तसम्म छाप्न बाँकी ४ लाख ५० हजार लाइसेन्सको छपाइ सकिने विभागको दावी छ ।

विभागले एक वर्षको लागि परीक्षणकालीन भन्दै ट्रायल पास भएकाहरुलाई ‘कागजी’ लाइसेन्स दिन थालिसकेको छ । माघ मसान्तसम्म छाप्न बाँकी छपाई सकिएपछि तुरुन्तै लाइसेन्स दिने तयारी विभागको छ । यसका लागि काम भइरहेको छ ।

सम्बन्धित खबरहरु