काठमाडौ । राज्य वा पदमा रहेकाले गर्ने हो भने के नहुने रहेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा इजरायलमा जाने कामदारले ठूलो रकम छुट पाएका छन् ।

उनीहरुले ८० हजार भन्दा कम हवाई भाडादर तिरे हुने भएको छ । कामदार लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

एयर अरेबियाले ५९ हजार ९ सय ९० रुपैयाँमा नेपाली कामदारलाई इजरायल लैजान तयार भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

रोजगारीमा जान अन्तिम छनौटमा एक हजार एक सय ७५ कामदार रहेका छन् । अब उनीहरूको नौ करोड ४० लाख रुपैयाँ लागत घट्ने भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

यसअघि वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जाने कामदारबाट हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, पिसिआरसहित १ लाख ६५ हजार सात सय तोकेको थियो ।

जसमध्ये विभागले एक लाख ४० हजार रुपैयाँ हवाई भाडाबापत मात्रै खर्च तोकेको थियो । मन्त्रीको उपयुक्ति निर्णयले एक नागरिकको ८० हजार रकम बचत भएको छ । राज्यको नौ करोड ४० लाख रकम बचेको छ ।

विभागले नेपाल एयरलाइन्समार्फत कामदारलाई इजरायल पठाउन उक्त भाडादर निर्धारण गरेको हो । तर, श्रममन्त्री श्रेष्ठले हवाई भाडादर अत्यधिक भएको भन्दै नेपाल एयरलाइन्सको विकल्प खोज्न निर्देशन दिएपछि विभागले टेन्डर आव्हान गरेको थियो ।

मन्त्री श्रेष्ठका अनुसार ‘नेपाल एयरलाइन्ससँग घटाउनका लागि आग्रह गरेपछि एक लाख २० हजारसम्ममा सहमत भएको थियो । तर, अन्य एयरलाइन्सले त्यसभन्दा कममा लैजान्छौं भनेपछि हामी टेण्डर आव्हान गर्न पुगको हौ उहाँले भन्नुभयो ।’

वैदेशिक रोजगार विभागले पुष ९ गते सूचना प्रकाशित गर्दै एयरलाइन्स कम्पनीसँग प्रस्ताव माग गरेपछि आठ वटा एयरलाइन्स कम्पनीले आवेदन दिएका थिए ।

जसमध्ये सबैभन्दा कम मूल्य सी लिंक होलिडेज कम्पनीबाट प्रस्ताव गरेपछि एयर अरेबिया छनौट भएको हो । इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी (पिआइबिए) ले एक हजार एक सय ७५ जना कामदारलाई छनोट गरेको छ ।

वैदेशिक रोजगार विभागले माघ ५ गते पहिलो चरणमा एक सय २५ जना नेपाली युवालाई इजरायल उडाउने तयारी गरेको छ ।

सम्बन्धित खबरहरु