सिराहा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टीद्वारा जारी किसान आन्दोलनलाईथप उत्तेजक बनाउन कार्यकर्तालाई सन्देश दिनुभएको छ ।

सिरहा सदरमुकाममा भाषण गर्दै उहाँले सांसद र मन्त्रीलाई जनकारवाही गर्ने चेतावनी समेत सुनाउँनुभयो ।

उहाँको भाषण अत्यन्तै उत्तेजक थियो । राज्यका निकायले सुन्नैपर्ने थियो । संविधान भन्दा माथीका शब्द हामीले यहाँ प्रस्तुत गर्न सक्दैनौँ ।

पार्टीद्वारा आज आयोजित सभामा राउतले उत्तेजक भाषण गर्नुभयो । उहाँले मन्त्री, सांसद र नेताहरुलाई भौतिकरुपमा नै समाप्त पानुपर्ने खालका शब्द व्यक्त गर्नुभयो ।

राउतले भन्नुभयो, ‘जसरी जरासन्धलाई बलरामले कोदालोले सिध्याए । त्यसरी नै तपाईं किसानहरुले सत्तामा पुगेका जरासन्धहरुलाई कोदालोले अन्त्य गर्नुपर्छ । किसानले आफ्नो ताकत देखाउनुपर्छ ।’

उहाँले थप्नुभयो, ‘एक–दुई टकाको दाना खाएपछि बगरा (चरा) लाई मार्ने प्रयास गर्छौं । तर अबौंको मल खाने कृषिमन्त्रीलाई के गर्ने ? यो कुरा तपाईं किसाहरुले बुझनुपर्छ ।’

उहाँले अब बगरालाई छाडेर भ्रष्टाचारमा लिप्त मन्त्री र सांसदलाई लखेट्नुपर्ने उल्लेख गर्नुभयो । राजमार्ग बन्दको घोषणा गरेर मात्र माग पुरा नहुने भन्दै राउतले अब राजमार्गमै खाना पकाएर खाने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजमार्गमै अब भट्टी जलाउछौं । खाना पकाएर खान्छौं । र सांसद मन्त्री आए त्यहीँ जनकारबाही गर्छौं ।’

राउतले २१ दिन आन्दोलन गर्दा राजतन्त्र ढलेको तर किसान आन्दोलनको २२ दिन पुरा हुँदा पनि माग पुरा गर्न चासो नदेखाइएको गुनासो गर्नुभयो । किसानकै मत लिएर सत्तामा पुगेकाहरू अहिले किसानमाथि नै गोली तान्ने गरेको उहाँको आरोप थियो ।

 

सम्बन्धित खबरहरु