बझाङ । हिन्दुहरुको महान चाड दशै तिहारजस्तै सुदूरपश्चिम प्रदेशमा धुमधामका साथ मनाईने माघी संक्रान्तिका दिन जिल्लाको प्रख्यात तपोवन क्षेत्रलगायत बिभिन्न स्थानीय शक्तीपिठहरुमा श्रदालु भक्तजनहरुको घुइचो लागेको छ ।

शुक्रबार रातीदेखि नै श्रदालु भक्तजनहरुले बिभिन्न शक्तीपिठहरुमा मुढाबालेर रातभर भगवानको आराधना गरी माघी संक्राति बिहान स्नान गरी फर्केका छन् ।

जिल्लाको प्रख्यात तातोपानी हुने क्षेत्र तल्कोट गाउँपालिका र मष्टा गाउँपालिकाको बीचमा पर्ने तपोवनमा रातीदेखि नै श्रदालु भक्तजनहरुले भगवानको आराधना गरी मनाएका छन् ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा तातोपानी भएको तपोवन क्षेत्रमा पौराणिककालमा रिसीमुनीहरुले तसस्या गरेर भगवान शिबजीले साक्षात्कार दर्शान दिएको र भगवान शिबजीको जटाबाट तातोपानी निस्केको किम्बदन्ती छ ।

तपोवन क्षेत्रमा स्नान गरी पुजाआजा गरेमा सोचेको पुरा हुने धार्मिक बिश्वास छ । यस क्षेत्रमा छिमेकी जिल्ला बैतडी, बाजुरा, डडेल्धुरा र डोटीबाट समेत श्रदालु भक्तजन आउनेगरेका छन् ।

तपोवनजस्तै जिल्लाको जयपृथ्बी नगरपालिकाको लुयाटामा पर्ने रिसीकुण्ड क्षेत्रमा समेत श्रदालु भक्तजनको भिड लागेको छ ।

सुरु भयो चेली पर्ब
माघको महिना बिशेसगरी महिलालाई अन्नी फाको दिने चलनले प्रायजसो यो पर्वमा महिला बढी उत्साहित हुने गर्दछन् । पुस मसान्तीको राती स्थानिय परिकारहरु सेल, बाबर, मासु, तरुल, चुकानी पकाएर खाने प्रचलन छ ।

गाउँघरका छोरी चेलीहरु माघीको दिन माईती घरमा आएर दुई तीन दिनसम्म मिठा भोजनहरु खाएर माइतमा नै देउडा खेल्ने चलन छ । हिन्दु धर्मालम्बीहरुले माघ १ गते संक्रान्तिका दिन घरको दैलो लिपपोत गरी स्थानीय धार्मिकस्थलमा स्नान गरेर बर्त बस्ने चलन रहेको छ ।

माघी पर्वका लागि सामान किनमेल गर्न सदरमुकाम चैनपुर आउनुभएकी जयपृथ्बी नगरपालिकाकी पार्वती सिंहले भन्नुभयो, “माघी पर्व हामी चेली बहिनीको तिहार वर्षभरीको दुख मेटाउने पर्व हो ।

यो वर्षमा छोरीबेटीहरुलाई खानेकुरा (अन्नी फाको बबर) दिने चलन हुन्छ ।” नाक कानहरुमा गरगहना लगाउन सियोले प्वाल पार्ने पनि चलन रहेको उहाँले बताउनुभयो ।

 

सम्बन्धित खबरहरु